काठमाडौं, १५ पुस । बंगलादेशकी पहिलो महिला प्रधानमन्त्री खालिदा जियाको ८० वर्षको उमेरमा निधन भएको छ । उनको आज (मंगलबार) बिहान स्थानीय समयअनुसार बिहान ६ निधन भएको हो ।
बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी)को मिडिया सेलले सामाजिक सञ्जाल फेसबुकमार्फत् खालिदाको निधन भएको सूचना दिएको छ ।
२५ डिसेम्बरमा खालिदाका छोरा तारिक रहमान १७ वर्षपछि बेलायतबाट ढाका फर्किएका थिए । उनी स्वदेश फर्किएको पाँच दिनपछि खालिदाको निधन भएको हो ।
जियाले सन् १९९१ मा आफ्नो दललाई विजय दिलाउँदै २० वर्षपछि भएको बंगलादेशको पहिलो प्रजातान्त्रिक निर्वाचनबाट देशको पहिलो महिला सरकार प्रमुख बनेकी थिइन् ।
गत वर्ष बंगलादेशमा भएको व्यापक सरकारविरोधी प्रदर्शनपछि शेख हसिना सत्ताच्युत भई निर्वासनमा जान बाध्य भएपछि खालिदा जियालाई जेलबाट रिहा गरिएको थियो । बीएनपीले नोभेम्बरमा जियाले आगामी आम निर्वाचनमा चुनावी अभियानमा सहभागी हुने जनाएको थियो ।
बीएनपी सत्तामा फर्किने लक्ष्यमा छ । यदि त्यसो भयो भने जियाका छोरा तारिक रहमान देशका नयाँ नेता बन्ने अपेक्षा गरिएको छ ।
जिया पछिल्लो एक महिनादेखि अस्पतालमा उपचाररत थिइन् । उनी मिर्गौला, मुटु रोग, निमोनियालगायत विभिन्न रोगबाट पीडित थिइन् ।