१७ प्रतिशतले बढ्यो जीवन बीमाको व्यवसाय, पाँच महिनामा करिब ७७ अर्ब बीमाशुल्क संकलन

अनलाइनसमय |
१४ पुष २०८२
१७ प्रतिशतले बढ्यो जीवन बीमाको व्यवसाय, पाँच महिनामा करिब ७७ अर्ब बीमाशुल्क संकलन

काठमाडौं, १४ पुस । चालू आर्थिक वर्ष (आव) २०८२/८३ को पहिलो पाँच महिनामा जीवन बीमा कम्पनीहरूले करिब ७७ अर्ब रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।

नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार जीवन बीमा कम्पनीहरुले मंसिरसम्ममा ७६ अर्ब ९० करोड ५७ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन्, जुन गत आवको सोही अवधिको तुलनामा १६ दशमलव ९८ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा ६५ अर्ब ७४ करोड १८ लाख रुपैयाँ व्यवसाय भएको थियो ।

व्यवसायमा उठेको बीमा शुल्क मध्ये प्रथम बीमा शुल्कबाट १६ अर्ब ९७ करोड ७ लाख रुपैयाँ संकलन भएको छ । त्यस्तै नविकरण बीमाशुल्कमार्फत ५९ अर्ब ९३ करोड ४९ लाख रुपैयाँ संकलन भएको छ । मंसिरसम्ममा सक्रिय रहेको बीमालेखको सङ्ख्या कुल १ करोड १५ लाख ३९ हजार १९५ रहेको प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ ।

जीवन बीमा व्यवसाय गर्ने १४ बीमकहरु रहेका छन् । यी बीमक मध्ये सबै भन्दा धेरै व्यवसाय गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटड रहेको छ । पाँच महिनामा कम्पनीले २१ अर्ब ३७ करोड ४१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

दोस्रोमा धेरै बीमा शुल्क आर्जन गर्नेमा नेसनल लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीले कम्पनीले ९ अर्ब २७ करोड २ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । तेस्रोमा लाइफ इन्स्योरेन्स कर्पाेरेशनले ८ अर्ब १८ करोड १० लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

यसैगरी, हिमालयन लाइफ इन्स्योरेन्सले ६ अर्ब ९२ करोड ४३ लाख रुपैयाँ, राष्ट्रिय जीवन बीमा कम्पनीले ५ अर्ब ५७ करोड, सूर्यज्योति लाइफले ४ अर्ब ४७ करोड र एशियन लाइफले ३ अर्ब ७५ रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस