काठमाडौं, १० पुस । बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तथा बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का कार्यवाहक अध्यक्ष तारिक रहमान १७ वर्ष लामो निर्वासनपछि स्वदेश फर्किएका छन । ढाका विमानस्थलमा उनलाई स्वागत गर्न १ लाखभन्दा बढी पार्टी कार्यकर्ताहरू भेला भएका थिए ।
सन् २००८ मा तत्कालीन शेख हसिना सरकारले लगाएका भ्रष्टाचारका मुद्दा र गिरफ्तारीबाट बच्न उनी बेलायत गएका थिए । हसिना सरकारको पतनपछि उनी स्वदेश फर्किएका हुन् । यसलाई बंगलादेशको राजनीतिमा ठूलो परिवर्तनको सङ्केत मानिएको छ । उनले नेतृत्व गरिरहेको बीएनपी नयाँ वर्षमा हुने आम निर्वाचनमार्फत सत्तामा पुनः फर्किने तयारीमा जुटेको छ ।
सन् २०२६ फेब्रुअरी १२ मा बंगलादेशमा आम निर्वाचन हुँदैछ । संसदीय निर्वाचनका सन्दर्भमा उनलाई पार्टीको प्रमुख अनुहारका रूपमा हेरिँदै आएको छ । पार्टी अध्यक्ष जिया स्वास्थ्य समस्याका कारण सक्रिय राजनीतिमा सीमित रहेकाले आगामी चुनावमा रहमानको भूमिकालाई महत्वपूर्ण मानिएको छ ।
पूर्वप्रधानमन्त्री शेख हसिनाको पदच्युतिपछि बंगलादेशमा पटक–पटक हिंसाका घटनाहरू देखिँदै आएका छन् । हालै हसिनाको बहिर्गमनमा महत्वपूर्ण भूमिका खेलेका युवा नेता ओस्मान हादीको हत्या भएपछि राजनीतिक तनाव फेरि चर्किएको छ । हादीका दाइले उक्त हत्या ‘निर्वाचन बिगार्ने उद्देश्यले’गरिएको आरोप लगाएका छन् । बीएनपी नेता रहमानको स्वदेश फिर्ता अन्तरिम सरकारको सहजीकरणमा भएको बताइएको छ ।
यस्तो अवस्थामा रहमान निर्वाचनपछि बीएनपी सबैभन्दा ठूलो दल बनेमा देशको नयाँ नेता बन्ने अपेक्षा गरिएको छ ।