काठमाडौं, ८ पुस । चालू आर्थिक वर्ष (आव) २०८२/८३ को पाँच महिनामा करिब सवा खर्ब रुपैयाँ सार्वजनिक ऋण थपिएको छ ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार साउनदेखि मंसिरसम्ममा १ खर्ब १४ अर्ब ४८ करोड रुपैयाँ थपिएको छ । यससँगै मंसिरसम्म सरकारले तिर्न बाँकी सार्वजनिक ऋणको दायित्व २७ खर्ब ८८ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ । गत असारसम्म सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब ४ करोड रुपैयाँ थियो ।
नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) सँगको अनुपातमा यस्तो ऋण ४५.६६ प्रतिशत रहेको छ ।
हालसम्म तिर्न बाँकी सार्वजनिक ऋणमध्ये आन्तरिक १३ खर्ब १ अर्ब ६३ करोड (जीडीपीको २१.३१ प्रतिशत) र बाह्य १४ खर्ब ८६ अर्ब ९० करोड रुपैयाँ (जीडीपीको २४.३५ प्रतिशत) रहेको छ ।
सरकारले चालू आवको मंसिरसम्ममा १ खर्ब ७५ अर्ब १२ करोड ऋण प्राप्त गरेको छ, जुन वार्षिक लक्ष्यको २९ दशमलव ४० प्रतिशत हो । सरकारले यस वर्षका लागि ५ खर्ब ९५ अर्ब सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेको थियो ।
मंसिरसम्ममा १ खर्ब ६७ अर्ब १ करोड ऋण भुक्तानी गरिएको छ । भुक्तानी गरिएको कुल रकममध्ये १ खर्ब ३८ अर्ब ३० करोड रुपैयाँ साँवा र बाँकी २८ अर्ब ७० करोड रुपैयाँ ब्याजका लागि खर्च भएको तथ्याङ्कले देखाएको छ, जुन वार्षिक बजेट विनियोजन लक्ष्यको ४० दशमलव ६४ प्रतिशत हो । चालू आवमा ऋण सेवा खर्चमा ४ खर्ब ११ अर्ब १ करोड बजेट विनियोजन गरिएको थियो ।