पाँच महिनामा करिब ९ खर्बको वैदेशिक व्यापार, निर्यात ५८.१७ र आयात झण्डै १६ प्रतिशतले वृद्धि

अनलाइनसमय |
७ पुष २०८२
पाँच महिनामा करिब ९ खर्बको वैदेशिक व्यापार, निर्यात ५८.१७ र आयात झण्डै १६ प्रतिशतले वृद्धि

काठमाडौं, ७ पुस । चालू आर्थिक वर्ष (आव) २०८२/८३ को पाँच महिनामा करिब ९ खर्बको वैदेशिक व्यापार भएको छ ।

भन्सार विभागले सोमबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार नेपालले चालू आवको मंसिर मसान्तसम्ममा ८ खर्ब ८२ अर्ब ६९ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ, जुन गत आवको सोही अवधिको तुलनामा २० दशमलव ७ प्रतिशतले बढी हो । गत आवको पाँच महिनामा नेपालले ७ खर्ब ३५ अर्ब १४ करोड रुपैयाँको व्यापार गरेको थियो ।

पछिल्लो एक वर्ष अवधिमा निर्यात ५८ दशमलव १७ प्रतिशतले बढेको छ । गत आवको पाँच महिनामा ७३ अर्ब ६५ करोड मुल्य बराबरको वस्तु निर्यात गर्दा यो वर्षको यसै अवधिमा १ खर्ब १६ अर्ब ७५ करोड रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ ।

मंसिरसम्ममा नेपालले ७ खर्ब ६६ अर्ब १८ करोड रुपैयाँ बराबरको वस्तु आयात गरेको छ, जुन गत आवको सोही अवधिको तुलनामा १५ दशमलव ८३ प्रतिशतले बढी हो । गत आवको पाँच महिनामा ६ खर्ब ६१ अर्ब ४१ करोड रुपैयाँ बराबरको मात्रै आयात भएको थियो ।

त्यसैगरी, चालू आवको पाँच महिनामा नेपालले ६ खर्ब ५९ अर्ब ६८ लाख रुपैयाँ व्यापार घाटा बेहोरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १० दशमलव ५२ प्रतिशतले बढी हो । सो अवधिमा नेपालले ७ खर्ब ३५ अर्ब १४ करोड रुपैयाँ बराबरको घाटामा थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस