काठमाडौं, ६ पुस । सहकारीमा बचत गरेको रकम फिर्ता नपाएको भन्दै सहकारी बचतकर्ताहरूले प्राइम कमर्सियल बैंकको केन्द्रीय कार्यालय अगाडि धर्ना दिएका छन् । उनीहरूले सहकारीसँग सम्बन्धित सम्पत्ति लिलाम प्रक्रिया तत्काल रोक्न माग गर्दै धर्ना दिएका हुन् ।
बचतकर्ताहरूका अनुसार न्युरोडस्थित अभिमत बचत तथा ऋण सहकारी संस्थामा आफूहरूले राखेको बचत रकम अझै फिर्ता भएको छैन । सहकारी सञ्चालक समितिका अध्यक्ष शिव लामिछानेले सहकारीको बचत रकम दुरुपयोग गरी प्राइम बैंकबाट कर्जा लिएको र सो रकमबाट व्यक्तिगत सम्पत्ति जोडेको आरोप उनीहरूले लगाएका छन् ।
बचतकर्ता सञ्जय श्रेष्ठका अनुसार सहकारीका अध्यक्ष शिव लामिछानेले बैंकबाट लिएको कर्जाको किस्ता समयमै नतिरेपछि धितो राखिएको सम्पत्ति बैंकले लिलाम गर्न थालेको छ । तर सहकारीका बचतकर्ताहरूले आफ्नो रकम फिर्ता नपाएसम्म लिलाम प्रक्रिया रोकिनुपर्ने माग गरेका छन् ।
धर्नामा सहभागी चन्द्रबहादुर बानियाले बैंकसँग बचतकर्ताहरूको प्रत्यक्ष सम्बन्ध नभए पनि सहकारीको बचत रकमबाट जोडिएको सम्पत्ति लिलाम हुनु अन्यायपूर्ण भएको बताए ।





