काठमाडौं, २९ मंसिर । चालू आर्थिक वर्ष (आव)को कात्तिकसम्ममा शोधनान्तर स्थिति ३ खर्ब १८ अर्ब ४० करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो रकम २ खर्ब ५ अर्ब ८३ करोडले बचतमा थियो । निर्यात तथा रेमिट्यान्स आप्रवाहमा आएको सुधारले शोधनान्तर स्थितिमा सुधार आएको हो ।
अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ५३ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा २ अर्ब २६ करोडले बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ ।
त्यस्तै कात्तिकसम्ममा चालू खाता २ खर्ब ७९ अर्ब ६५ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो रकम १ खर्ब ४७ अर्ब ७८ करोडले बचतमा थियो ।
अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब १० करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब ९९ करोडले बचतमा रहेको छ ।
समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर ६ अर्ब २१ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २ अर्ब ४७ करोड रहेको थियो ।
यसैगरी, कात्तिकसम्ममा २ अर्ब ४९ करोड प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ । गत आवको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) ५ अर्ब ७६ करोड रहेको थियो ।