काठमाडौं, २४ मंसिर । अन्तरिक्ष प्रतिष्ठान नेपालका इन्जिनियरहरुको मार्गदर्शनमा चेपाङ समुदायका विद्यार्थीहरुले बनाएको स्याटेलाइट ‘स्लिपर्स टु स्याट’ आज बिहान चीनबाट अन्तरिक्षमा प्रक्षेपण गरिएको छ ।
नेपाली समयअनुसार बिहान पौने १० बजे स्याटेलाइट प्रक्षेपण भएको अन्तराष्ट्रिय प्रतिष्ठान नेपालले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएको छ । स्याटेलाइटबाट पहिलो जानकारी प्राप्त हुन केही समय लाग्नेछ ।
नेपाली स्याटेलाइट गत आइतबार चिनियाँ रकेट काइनेटिका वनमा इन्टिग्रेट गरिएको थियो । एक किलो २० ग्राम तौल रहेको यो स्याटलाइटमा २ वटा उच्च् क्षमताको क्यामेरा जडान गरिएको छ । यी क्यामेराले नेपालको वनस्पति र पानीको विवरण दिनेछन् ।
स्याटेलाइटको अर्को महत्त्वपूर्ण विशेषता भनेको भूकम्पको पूर्वसूचना प्रणाली हो । भूकम्प आउनुअघि उत्पन्न हुने सूक्ष्म इलेक्ट्रोम्याग्नेटिक तरङ्गहरू मापन गरी पूर्वसूचना दिने प्रविधि यसमा समावेश जडान गरिएको छ । साथै पृथ्वीको वरिपरि घुमिरहेको अवस्थामा यसलाई यहीँबाटै रोक्न सकिने र दिशा परिवर्तन गर्न सकिने प्रविधि पनि स्याटेलाइटमा समावेश छ । यसमा नेपाली–स्याट वन र मुनाल उपग्रहहरूले प्रयोग गरेको प्रविधि अपनाउँदै अझ विकसित रूपमा डिजाइन गरिएको छ ।
मूल योजना अनुसार यो स्याटेलाइट कम्तीमा ५ वर्षसम्म सञ्चालनमा रहने अपेक्षा गरिएको थियो । तर, हाल सूर्यको २५औँ सौर्य चक्र (सोलार साइकल) आफ्नो उच्चतम बिन्दु (सोलार म्याक्सिमम) मा पुगेकाले सौर्य विकिरणको तीव्रता अत्यधिक रहने अनुमान छ । यसले स्याटेलाइटको कक्षीय आयु (अर्बाइटल लाइफटाइम) छोट्याउने जोखिम रहेकोले अब कम्तीमा डेढ वर्षसम्म मात्र सञ्चालन हुने प्रक्षेपण टोलीको अनुमान छ ।
एमेच्योर रेडियो डिजिटल कम्युनिकेसनले सहयोग गरेको यो परियोजनामा चितवनको चेपाङ समुदायका कक्षा ७ र ८ मा पढ्ने नौ जना बालबालिका र अन्तरिक्ष प्रतिष्ठान नेपालका ६ जना इन्जिनियर सहभागी थिए ।

