काठमाडौं, ४ जेठ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकार विस्तार गरेका छन् ।
गत वैशाख २७ मा मुख्यमन्त्री बनेका कार्की नेतृत्वको सरकारमा दुई जना विनाविभागीय मन्त्री थिए । शुक्रबार पाँच मन्त्री र दुई राज्यमन्त्री थपेर कार्कीले १० सदस्यीय बनाएका छन् । उनिहरुको कार्यविभाजन समेत गरिएको छ ।
शुक्रबार एमालेबाट एकराज कार्की, पाँचकर्ण राई र लिलावल्लभ अधिकारी मन्त्री नियुक्त भएका छन् भने माओवादी केन्द्रबाट नारायण बुर्जा मगर र राजेन्द्र कार्की मन्त्री बनेका छन् । यस्तै एमालेबाट सिर्जना राई र माओवादी केन्द्रबाट बन्दना झागड राज्यमन्त्री बनेका छन् ।
यसअघि एमालेबाट राम राना र माओवादी केन्द्रबाट गणेश उप्रेती मन्त्री नियुक्त भएका थिए ।
आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी रामबहादुर मगर र स्वास्थ्य मन्त्रालयको जिम्मेवारी राजेन्द्र कार्कीले पाएका छन् ।
ऊर्जा, सिंचाइ तथा खानेपानी मन्त्रीमा एकराज कार्की, भौतिक पूर्वाधार विकास मन्त्रीमा गणेश उप्रेती, सामाजिक विकास मन्त्रीमा पाँचकर्ण राई, पर्यटन, वन तथा वातावरण मन्त्रीमा नारायणबहादुर मगर र आन्तरिक मामिला तथा कानुन मन्त्रीमा लिलावल्लभ अधिकारी नियुक्त भएका छन् ।
यस्तै बन्दना झागरले पर्यटन, वन तथा वातावरण राज्यमन्त्री र सिर्जना राईले मुख्यमन्त्री कार्यालयमा राज्यमन्त्रीको जिम्मेवारी पाएकी छन् । कृषि, उद्योग तथा सहकारी मन्त्रालयको जिम्मेवारी भने मुख्यमन्त्री कार्कीले आफूसँग राखेका छन् ।