काठमाडौं, ४ जेठ । नेपालको अन्नपूर्ण संरक्षण क्षेत्रमा नयाँ प्रजातिको चरा भेटिएको छ । अन्नपूर्ण संरक्षण क्षेत्रको उपल्लो मुस्ताङस्थित लोमान्थाङको ३ हजार ८४० मिटर उचाइ क्षेत्रमा नयाँ प्रजातिको चरा भेटिएको हो ।
नयाँ प्रजातिको चरा ‘फुस्रो सारौं’ नाममा अभिलेख भएको नेपाल पन्छीविद संघले जनाएको छ । यससँगै नेपालमा जम्मा चरा प्रजातिको संख्या ८९५ पुगेको छ ।
नेपालका चराविद शंकर तिवारीले विदेशी पाहुनाको साथमा पदयात्रा तथा चरा अवलोकन गर्ने क्रममा गत वैशाख २५ गते बिहान ८ बजेर ४९ मिनेटमा सो चरा देखेका थिए । तिवारीले सो चराको फोटोलाई पुष्ट्याइँका लागि नेपाल बर्ड रेकर्ड कमिटीमा पठाएका थिए ।
राष्ट्रिय–अन्तर्राष्ट्रिय पन्छीविदहरुको समेत सल्लाह सुझाव र अध्ययन पश्चात उक्त चरा नेपालका लागि नयाँ भएको निष्कर्षमा पुगेको नेपाल पन्छीविद संघले जनाएको छ ।
यो चरा उत्तर र पूर्वी एशियाका चीन, जापान, मंगोलिया, उत्तर कोरिया, रुस, दक्षिण कोरिया, हङकङ, ताइवान र भियतनाममा आवासीय रुपमा पाइन्छ । लाओस, म्यानमार, फिलिपिन्स र थाइल्याण्डमा फिरन्ते चराको रुपमा रेकर्ड भएको छ ।