काठमाडौं, ३ जेठ । नेकपा एकीकृत समाजवादीले आगामीे महाधिवेशनमा साझा दस्तावेज पेस गर्ने भएको छ । पार्टीको सचिवालय बैठकले आगामी असार १६ गते देखि २० गतेसम्म काठमाडौंमा हुने महाधिवेशनमा साझा दस्तावेज पेस गर्ने निर्णय गरेको छ ।
पार्टीको राजनीतिक, समाजवादी कार्यक्रम, विधान र साङ्गठनिक प्रतिवेदनलाई थप समृद्ध बनाउन केन्द्रीय नेताहरूले सुझावसहित अनुमोदनका लागि सचिवालय पठाउन सिफारिस गरेका केन्द्रीय सदस्य मोहन गौतमले जानकारी दिए ।
पार्टीको अब बस्ने सचिवालय बैठकले चारवटा प्रतिवेदनलाई अनुमोदन गरेपछि त्यसलाई एक मात्र साझा दस्तावेज बनाएर महाधिवेशनमा प्रस्तुत गरिने छ ।
साथै पार्टीले महाधिवेशन सम्पन्न गर्न महाधिवेशन तयारी मूल व्यवस्थापन कमिटीलाई तोकिएको जिम्मेवारी निर्धारित समयमै पूरा गर्न निर्देशन दिएको छ ।
गत वैशाख ३१ सम्म प्राप्त सदस्यको नामावलीलाई अनुमोदन गरेको पार्टीले यही जेठ १० सम्म नयाँ र पुरानो सङ्गठित सदस्यको विवरण अद्यावधिक गर्न समय तोकेको छ । आगामी असार पहिलो साताभित्र महाधिवेशन प्रतिनिधि छनोट गरिने जनाइएको छ ।