• अर्थ, ताजा समाचार

    वार्षिक लक्ष्यको आधा पनि हुन सकेन कर्जा विस्तार, ९ महिनामा ४.५५ प्रतिशत मात्र

     95 Views
    वार्षिक लक्ष्यको आधा पनि हुन सकेन कर्जा विस्तार, ९ महिनामा ४.५५ प्रतिशत मात्र

    काठमाडौं, ३१ वैशाख । चालू आर्थिक वर्षको ९ महिना बितिसक्दा पनि वार्षिक प्रक्षेपणको आधा पनि कर्जा विस्तार हुन सकेको छैन । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष २०८०÷८१ को ९ महिनामा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा २ खर्ब २२ अर्ब २१ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ, जुन यो वर्षका लागि निजी क्षेत्रमा कर्जा विस्तार गर्न लिइएको वार्षिक लक्ष्यको ४.५५ प्रतिशत मात्र हो । राष्ट्र बैंकले यो वर्षका लागि मौद्रिक नीतिमार्फत निजी क्षेत्रको कर्जा प्रवाह ११ दशमलव ५ प्रतिशत विस्तार गर्ने प्रक्षेपण गरेको थियो । गत आवको असार मसान्तसम्ममा निजी क्षेत्रतर्फ ४८ खर्ब ७८ अर्ब कर्जा प्रवाह गरेको थियो भने चालू आवको चैत मसान्तसम्ममा निजी क्षेत्रको कर्जा प्रवाह कुल ५१ खर्ब पुगेको छ ।

    राष्ट्र बैंकका अनुसार नौ महिनामा सबैभन्दा धेरै कर्जा प्रवाह घर जग्गा धितो सुरक्षण भएको छ । सो अवधिमा घर जग्गा धितो सुरक्षणमा मात्रै बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये ६७ दशमलव ६ प्रतिशत रहेको छ । गत आवको सो अवधिमा यस्तो कर्जा ६७ दशमलव ९ प्रतिशत थियो । यस्तै चैतसम्ममा चालू सम्पती सुरक्षणमा ११.४ प्रतिशत कर्जा प्रवाह भएको छ । गत आवको सो अवधिमा यस्तो कर्जा १२.३ प्रतिशत थियो ।

    चालू आवको तेस्रो त्रैमाससम्ममा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ ६२.७ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ ३७.३ प्रतिशत कर्जा प्रवाह भएको छ । गत आवको सोही अवधिमा यस्तो कर्जा क्रमशः ६४.१ प्रतिशत र ३५.९ प्रतिशत थियो ।

    राष्ट्र बैंकका अनुसार ९ महिनामा निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह ४.७ प्रतिशतले, विकास बैंकहरुको ४.२ र वित्त कम्पनीहरुको कर्जा प्रवाह ५.५ प्रतिशतले बढेको छ ।

    यस्तै वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फ प्रवाह भएको कर्जा ०.७ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फ८.८, निर्माण क्षेत्रतर्फ ८.७, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फ ११.०, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फ ३.८, सेवा उद्योग क्षेत्रतर्फ कर्जा ४.९ र उपभोग्य क्षेत्रतर्फको कर्जा प्रवाह ५.७ प्रतिशतले बढेको छ ।

    चैतसम्ममा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा १७.८ प्रतिशतले, नगद प्रवाह कर्जा २७.४, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) ६.९ र मार्जिन प्रकृतिको कर्जा १२.९ प्रतिशतले बढेको छ । सो अवधिमा अधिविकर्ष कर्जा ४३.७ प्रतिशतले (पछिल्लो वर्षको कर्जाको पुनरवर्गीकरणको कारणसमेत), ट्रष्ट रिसिट (आयात) कर्जा ०.२ र हायर पर्चेज कर्जा १६.९ प्रतिशतले घटेको छ ।

    यसमा तपाइको मत

    Facebook Comment