काठमाडौं, ३१ वैशाख । चालू आर्थिक वर्षकोे चैत मसान्तसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडमा ८ अर्बभन्दा बढी शेयर सूचीकृत भएका छन् । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष २०८०÷८१ को चैत मसान्तसम्ममा ८ अर्ब २७ करोड शेयर नेप्सेमा सूचीकृत भएका छन् । जसको चुक्ता मूल्य ८ खर्ब १९ अर्ब ५४ करोड रहेको छ ।
यस्तै चैतसम्ममा ८४ अर्ब ९९ करोड मूल्य बराबरको साधारण शेयर, १९ अर्ब ४० करोडको बोनस शेयर, १७ अर्ब ७९ करोडको हकप्रद शेयर, र ३ करोड मूल्य बराबरको एफपीओ गरी कुल १ खर्ब २२ अर्ब २१ करोड मूल्य बराबरको थप धितोपत्र सूचीकृत भएका छन् ।
चालू आवको तेस्रो त्रैमाससम्ममा नेपाल धितोपत्र बोर्डले ९ अर्ब ८० करोड बराबरको साधारण शेयर, ६ अर्ब २ करोडको डिबेन्चर, ५ अर्ब ४६ करोडको हकप्रद शेयर र ३ अर्ब ५० करोड मूल्य बराबरको म्युचुअल फण्ड गरी कुल २४ अर्ब ७८ करोड रुपैयाँको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ ।
यस्तै चैत्र मसान्तसम्ममा नेप्सेमा सूचीकृत कम्पनीहरूको संख्या २७२ पुगेको छ । सूचीकृत कम्पनीहरुमध्ये १३४ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ९१ जलविद्युत्कम्पनी, २२ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ७ अन्य समूहका रहेका छन् । गत आवको सो अवधिमा नेप्सेमा सूचीकृत कम्पनीहरूको संख्या २४८ थियो ।
सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ५७.१ प्रतिशत रहेको छ । त्यस्तै जलविद्युत्कम्पनीको हिस्सा १४.९ प्रतिशत, लगानी कम्पनीको ७.३, उत्पादन तथा प्रशोधन उद्योगको ७.१, होटेलको २.९, व्यापारिक संस्थाको ०.५ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा १०.२ प्रतिशत रहेको छ ।