काठमाडां, ४ चैत । काठमाडौंको टोखास्थित झोरबाट २५ करोड बराबरको डलर र युरोसहित पक्राउ परेका ट्रक चालक कुसाङ लामा पुर्पक्षका लागि कारागार चलान भएका छन् ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले उनलाई कारागार चलानको आदेश दिएको हो ।
गत ४ चैत राति ना ७ ख १६५२ नम्बरको ट्रकमा उक्त डलर र युरो लुकाएर चीनतर्फ लाँदै गरेको अवस्थामा प्रहरीले सिन्धुपाल्चोकका ४३ वर्षीय चालक लामालाई पक्राउ गरेको थियो । भोटेकोशी गाउँपालिका–१ का लामाले चालक सिट पछाडि फल्स बटम बनाएर लैजाँदै गरेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको थियो । प्रहरीले उक्त ट्रकबाट २५ करोड ३४ लाख ७८ हजार ८४२ रुपैयाँ विदेशी मुद्रा बरामद गरिएको थियो ।
यता २५ करोडको मालिक भनिएका सिन्धुपाल्चोककै भोटेकोशी गाउँपालिका–४ स्थायी घर भई टोखा नगरपालिका–१० बस्ने नारायण पौडेल भने फरार छन् । उनलाई फरार प्रतिवादी बनाएर मुद्दा दायर भएको थियो ।
दुवै जनालाई प्रतिवादी बनाएर विदेशी विनिमय (नियमन गर्ने) ऐन २०१९ को दफा ३, ४, ५ र ९ अनुसारको कसुरमा मुद्दा दर्ता गरिएको थियो । मुद्दामा बरामद रकमअनुसार बिगो र जरिवाना समेत मागदाबी गरिएको छ ।