काठमाडौं, ४ चैत । सरकारले चार वटा निर्माण कम्पनी र आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ ।
प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमनको कार्यालयले सूचना जारी गर्दै विभिन्न निकायहरूको सिफारिसको आधारमा चारवटा निर्माण कम्पनी र आपूर्तिकर्तालाई निश्चित समयका लागि कालोसूचीमा राखिएको जानकारी दिएको हो ।
कालोसूचीमा परेका कम्पनीहरुमा छिरिङ लामा डोङ र पम्बर लामा मुख्य व्यक्ति भएको बिल्ड ब्रदर्श कन्सट्रक्सन प्रालि गोंगबु, सहदेव गौतम मुख्य व्यक्ति भएको एस.एम. कन्सट्रक्सन मकवानपुर, सुकु रानामगर मुख्य व्यक्ति भएको राना फर्निचर सःमलि उद्योग मध्यनेपाल लमजुङ र तुफान सिंह बुढाथोकी मुख्य व्यक्ति भएको शारदा नगरपालिका सल्यानको गौरीगोमा निर्माण सेवा छन् ।
कार्यालयले बिल्ड ब्रदर्स कन्स्ट्रक्सन प्रालि र गौरीगोमा निर्माण सेवालाई १ वर्षका लागि कालोसूचीमा राखेको छ । त्यस्तै एस.एम कन्स्ट्रक्सन र राना फर्निचर सःमिल उद्योगलाई १ वर्ष ६ महिना कालोसूचीमा राखिएको छ ।
निर्माणको जिम्मा लिने तर काम सन्तोषजनक नगर्ने कम्पनीहरुलाई सरकारले कालोसूचीमा राख्ने गर्दछ । कालोसूचीमा परेका कम्पनीहरुले कालोसूचीमा परेको अवधिभर सार्वजनिक निकायका कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउँदैनन् ।
