दक्षिण कोरियामा जुन ३ मा राष्ट्रपति निर्वाचन हुने

अनलाइनसमय |
२६ चैत २०८१
दक्षिण कोरियामा जुन ३ मा राष्ट्रपति निर्वाचन हुने

काठमाडौं, २६ चैत । दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपतिले मङ्गलबार जुन ३ मा राष्ट्रपति निर्वाचन हुने घोषणा गरेका छन् । मुलुकका पूर्वराष्ट्रपति युन सुक योलको मार्शल ल घोषणाको विनाशकारी प्रयासपछि उनलाई पदबाट हटाइएपछि निर्वाचनको घोषणा गरिएको हो ।

गत हप्ता अदालतले युनको महाभियोगलाई सदर गरेको थियो । उक्त फैसलाले उनलाई शीर्ष पदबाट हटाएसँगै ६० दिनभित्र नयाँ निर्वाचन गराउनुपर्ने प्रावधानअनुसार नयाँ निर्वाचनको मार्ग खुलेको हो ।

सरकारले ‘राष्ट्रिय निर्वाचन आयोग र अन्य सम्बन्धित निकायहरूसँग छलफल गरेको’ प्रधानमन्त्री हान डक–सुले बताएका छन् । यसले ‘सहज निर्वाचन सञ्चालन सुनिश्चित गर्न र राजनीतिक दलहरूलाई तयारीका लागि पर्याप्त समय दिन आवश्यक रहेका कुरालाई पनि ध्यानमा राखेको उनले बताए । उनले मतदानलाई सहज बनाउन जुन ३ मा अस्थायी सार्वजनिक बिदाका रूपमा तोकिने जानकारी दिएका छन् ।

प्रधानमन्त्री हानले मन्त्रालय र राष्ट्रिय निर्वाचन आयोगलाई ‘पहिलेभन्दा निष्पक्ष र पारदर्शी एवं जनताको विश्वास कमाउन सक्ने निर्वाचन सुनिश्चित गर्न पूर्ण तयारी गर्न’ समेत आह्वान गरेका छन् ।

नियमित निर्वाचनमा राष्ट्रपति–निर्वाचित व्यक्तिलाई दुई महिनाको सङ्क्रमणकालीन अवधि दिइन्छ भने जुन ३ को निर्वाचनमा विजयी हुने व्यक्ति अर्को दिनै पदमा नियुक्त हुनेछन् । अहिलेका लागि प्रधानमन्त्री हानले कार्यवाहक राष्ट्रपतिका रूपमा सरकार चलाइरहेका छन् ।

चुनाव घोषणा गरिएसँगै अब आधिकारिक चुनावी अभियान मे १२ देखि जुन २ सम्म चल्नेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस