काठमाडौं, २४ चैत । नेपाल विद्यु्त प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुनर्बहालीको माग गर्दै काठमाडौंमा प्रदर्शन भएको छ । कुलमान घिसिङ पुनर्बहाली संयुक्त आन्दोलन परिचालन समितिको अगुवाइमा आइतबार माइतीघर मण्डलीमा विरोध प्रदर्शन भएको हो ।
घिसिङलाई कार्यकारी राष्ट्रपति बनाउनुपर्ने लगायतका माग राख्दै समर्थकहरू विभिन्न ब्यानर र प्लेकार्डसहित सडकमा उत्रिएका हुन् ।
विरोध प्रदर्शनमा सहभागीहरूले ‘प्राधिकरणमाथिको राजनीति बन्द गर, ‘देशको शान कुलमान घिसिङ’ कुलमान हाम्रो शान हो, देश र जनताको मान हो, कर्मचारी संयन्त्रमाथिको बेथिति बन्द गरजस्ता नाराअंकित प्लेकार्ड बोकेका थिए भने ‘उज्यालो नेपालका नायक कुलमान घिसिङ’ टिसर्ट लगाएका थिए ।
गत चैत ११ गते बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशक पदबाट बर्खास्त गरी हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको थियो । घिसिङले आफूलाई अवैधानिक तरीकाले हटाइएको भन्दै सरकारको निर्णयको विरुद्धमासर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उनले आफूलाई तत्काल पुनस्र्थापना गर्न अन्तरिम आदेश माग गरे पनि सर्वोच्च अदालतको संयुक्त इजलासले शुक्रबार त्यस्तो आदेश दिन अस्वीकार गरेको थियो । सर्वोच्चले अन्तरिम आदेश नदिएपछि घिसिङले २२ चैतमा पत्रकार सम्मेलन गर्दै आफ्नो धारणा सार्वजनिक गरेका थिए ।