प्रधानमन्त्री बालेनले लिए सुरक्षा प्रमुखहरूसँग ब्रिफिङ

अनलाइनसमय |
१९ कार्तिक २०८३
प्रधानमन्त्री बालेनले लिए सुरक्षा प्रमुखहरूसँग ब्रिफिङ

काठमाडौं, १७ कात्तिक । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले मुलुकको समग्र सुरक्षा अवस्था र चाडपर्व लक्षित सुरक्षा व्यवस्थाबारे सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरेका छन् ।

बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा प्रधान सेनापति अशोकराज सिग्देल, नेपाल प्रहरीका महानिरीक्षक डा. मनोजकुमार केसी र सशस्त्र प्रहरी बलका महानिरीक्षक नारायणदत्त पौडेल सहभागी थिए ।

प्रधानमन्त्री शाहले सुरक्षा प्रमुखहरूबाट पछिल्लो शान्ति–सुरक्षाको अवस्था, सम्भावित चुनौती तथा चाडपर्वका बेला अपनाइने सुरक्षा रणनीतिबारे जानकारी लिएका हुन् ।

छलफलका क्रममा उनले नागरिकको जीउधनको सुरक्षा सुनिश्चित गर्न सुरक्षा निकायहरूबीच समन्वय र सहकार्य प्रभावकारी बनाउन निर्देशन दिएका छन् । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीबीच सूचना आदानप्रदानलाई तीव्र बनाउँदै सुरक्षा परिचालनलाई थप व्यवस्थित गर्नुपर्नेमा उनले जोड दिएका छन् ।

त्यस्तै, अपराध नियन्त्रणमा शून्य सहनशीलताको नीति अपनाउन र कुनै पनि अवस्थामा नागरिकको सुरक्षामा कमजोरी हुन नदिन प्रधानमन्त्री शाहले सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस