एमाले स्थायी कमिटीमा पहिलोपटक वरिष्ठ नेताका रूपमा विद्या भण्डारी सहभागी हुने

अनलाइनसमय |
२१ असोज २०८३
एमाले स्थायी कमिटीमा पहिलोपटक वरिष्ठ नेताका रूपमा विद्या भण्डारी सहभागी हुने

काठमाडौं, २१ असोज । नेकपा एमालेले बिहीबार स्थायी कमिटीको बैठक बोलाएको छ । पार्टी कार्यालय च्यासलमा दिउँसो १ बजे बस्ने बैठकमा पूर्वराष्ट्रपति विद्या भण्डारी पहिलोपटक वरिष्ठ नेताका रूपमा सहभागी हुने भएकी हुन् ।

एमालेका अनुसार बैठकमा पार्टीको सांगठनिक जिम्मेवारी बाँडफाँटलगायत विषयमा निर्णय हुनेछ ।

हालै बसेको एमाले केन्द्रीय कमिटी बैठकले स्थायी कमिटीमा पार्टीका सबै पदाधिकारी रहने व्यवस्था गर्दै थप सात जनालाई मनोनीत गरेको थियो । सोही बैठकले पूर्वराष्ट्रपति भण्डारीलाई वरिष्ठ नेताका रूपमा मनोनयन गर्ने निर्णय गरेको थियो । त्यसपछि बस्न लागेको स्थायी कमिटीको पहिलो बैठकमा भण्डारी सहभागी हुन लागेकी हुन् ।

स्थायी कमिटीमा पदाधिकारीबाहेक पूर्ववरिष्ठ नेता ईश्वर पोखरेलसहित प्रदीप ज्ञवाली, काशीनाथ अधिकारी, देवराज घिमिरे, लालबाबु पण्डित, थममाया थापा र शिवमाया तुम्बाहाङ्फे मनोनीत भएका छन् ।

बैठकले केन्द्रीय कमिटीबाट प्रत्यायोजित अधिकार प्रयोग गर्दै पार्टीका विभिन्न तहमा जिम्मेवारी तोक्ने तयारी गरेको छ । बैठकबाट केन्द्रीय सदस्य, पोलिटब्युरो सदस्य, स्थायी कमिटीका थप सदस्य तथा ज्येष्ठ कम्युनिष्ट मञ्च र विभिन्न विभागका सदस्यहरूको जिम्मेवारीसमेत टुंग्याइने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस