काठमाडौं, ४ साउन । लामो समयदेखि बन्द रहेको नेपालगन्ज–पोखरा नियमित हवाई उडान आगामी भदौ ३१ गतेदेखि पुनः सञ्चालन हुने भएको छ । निजी वायुसेवा कम्पनी बुद्ध एयरले यात्रुको माग बढेपछि यो गन्तव्यमा पुनः उडान सुरु गर्न लागेको हो ।
बुद्ध एयर नेपालगन्जका अनुसार पछिल्लो समय नेपालगन्जबाट पोखरा जाने यात्रुको संख्या बढ्नुका साथै भारतको उत्तर प्रदेशबाट पोखरा आउने धार्मिक पर्यटकको चाप पनि बढ्न थालेपछि सेवा पुनः सञ्चालन गर्ने निर्णय गरिएको हो ।
यसअघि गत जेठ ५ गतेदेखि नेपालगन्ज–पोखरा उडान स्थगित गरिएको थियो । भारतबाट आउने धार्मिक पर्यटकको संख्या घट्नु र सञ्चालन खर्चमा इन्धनको हिस्सा बढ्नुका कारण उडान रोकिएको जनाइएको छ ।
अब यात्रुको मागसँगै धार्मिक पर्यटकको आवागमन बढेकाले उडानलाई निरन्तरता दिन लागिएको बुद्ध एयरले जनाएको छ । कम्पनीका अनुसार नेपालगन्ज–पोखरा उडान आइतबार, बुधबार र शुक्रबार गरी सातामा तीन दिन सञ्चालन हुनेछ । उडानका लागि बुकिङसमेत खुला गरिएको छ ।