मन्दिरको जग्गा व्यक्तिको नाममा नामसारी गरेको अभियोगमा पुजारीसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अनलाइनसमय |
२९ साउन २०८३
मन्दिरको जग्गा व्यक्तिको नाममा नामसारी गरेको अभियोगमा पुजारीसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं, २९ साउन । सुनसरीको धरानस्थित ऐतिहासिक श्री नरसिंह भगवान मन्दिरको नाममा रहेको सार्वजनिक जग्गा गैरकानुनी रूपमा व्यक्तिको नाममा दर्ता गरी हिनामिना गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन कर्मचारी, पुजारीसहित ९ जनाविरुद्ध विशेष अदालत, काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

धरान उपमहानगरपालिका वडा नं. १४ दुईधारेस्थित मन्दिरको स्वामित्वमा रहेको १० कठ्ठा ५ धुर जग्गा नक्कली कागजात र झुट्टा सर्जमिन मुचुल्काका आधारमा मन्दिरका तत्कालीन पुजारी टिरु चौधरीको नाममा नामसारी गरी हडपिएको अनुसन्धानबाट पुष्टि भएपछि अख्तियारले आरोपपत्र दायर गरेको हो ।

आयोगका अनुसार सुनसरीको साविक भदगाउँ सिनवारी गाविस–४ (हाल रामधुनी नगरपालिका–२) मा रहेको मन्दिरको १० कठ्ठा ५ धुर जग्गा तत्कालीन कर्मचारीहरूको आपसी मिलोमतोमा पुजारी टिरु चौधरीको नाममा नामसारी गरिएको थियो । यसका लागि साविक धरान नगरपालिकाको वडा कार्यालय र गाविस कार्यालयबाट झुटा सर्जमिन मुचुल्का तयार पारी नाता प्रमाणित समेतका नक्कली कागजात बनाइएको अनुसन्धानबाट खुलेको छ । उक्त जग्गाको हालको न्यूनतम मूल्याङ्कन ३६ लाख १० हजार रुपैयाँ कायम गरिएको छ ।

यस प्रकरणमा धरान नगरपालिकाका तत्कालीन प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडा, साविक सिनवारी गाविसका तत्कालीन सचिव कपिलमणि दाहाल, मालपोत कार्यालय सुनसरीका तत्कालीन अधिकृतहरू सुशिल बैद्य, तुङ्गनाथ भण्डारी र केदारबहादुर कार्कीलाई प्रतिवादी बनाइएको छ ।

तत्कालीन गाविस सचिव दाहालले जग्गा नामसारी गर्ने प्रक्रियामा सहयोग गरेबापत पुजारी टिरु चौधरीबाट ५ हजार रुपैयाँ घुस समेत लिएको अख्तियारको ठहर छ ।
त्यसैगरी, जग्गा आफ्नो नाममा ल्याउने पुजारी टिरु चौधरी र मतियारको भूमिका खेल्ने स्थानीय जग्गा कारोबारी पंकज घिमिरेलाई पनि मुख्य कसुरदार सरहकै सजाय माग गरिएको छ । धरान नगरपालिका वडा नं. १४ का तत्कालीन वडा सचिव उत्तम आलेविरुद्ध पनि झुटा मुचुल्का तयार पारेको अभियोगमा मुद्दा चलाइएको छ ।

आयोगले सबै प्रतिवादीहरूबाट ३६ लाख १० हजार रुपैयाँ बिगो असुल उपर गरी भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद र जरिवानाको मागदाबी गरेको छ । साथै, गैरकानुनी रूपमा नक्कली जग्गाधनी खडा गरी व्यक्तिको नाममा नामसारी र बिक्री गरिएको उक्त जग्गा भ्रष्टाचार निवारण ऐन बमोजिम जफत गरी पुनः श्री नरसिंह भगवान मन्दिरकै नाममा कायम गराउनसमेत अख्तियारले विशेष अदालतसमक्ष माग गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस