मल आपूर्ति सहज बनाउन सरकारलाई प्रचण्डको आग्रह

अनलाइनसमय |
२५ साउन २०८३
मल आपूर्ति सहज बनाउन सरकारलाई प्रचण्डको आग्रह

काठमाडौं, २५ साउन । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रासायनिक मलको अभाव अन्त्य गर्दै किसानलाई सहज रूपमा मल उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

मलको आपूर्ति सहज हुन नसक्दा किसान समस्यामा परेको भन्दै प्रचण्डले रासायनिक मल आयातको प्रक्रिया तत्काल अघि बढाउन सरकारसँग आग्रह गरेका हुन् । सामाजिक सञ्जालमार्फत उनले पर्याप्त मल उपलब्ध गराउने सरकारी प्रतिबद्धता व्यवहारमा कार्यान्वयन हुन नसकेको बताएका छन् ।

उपलब्ध मलसमेत कालोबजारी र बिचौलियाका कारण किसानसम्म सहज रूपमा पुग्न नसकेको तथा समान र पारदर्शी ढंगले वितरण हुन नसकेको गुनासो बढिरहेको प्रचण्डको भनाइ छ ।

उनले रासायनिक मल आयातको प्रक्रिया जटिल हुने भएकाले समयमै आवश्यक तयारी गर्नुपर्नेमा जोड दिएका छन् । मलको माग, आयात र वितरणलाई समयमै व्यवस्थापन गर्न नसक्दा हरेक वर्ष किसानले समस्या भोग्दै आएको उनको भनाइ छ ।

प्रचण्डले आफू नेतृत्वको तत्कालीन सरकारले मल आयात र वितरणको संवेदनशीलतालाई ध्यानमा राखेर समयमै मल आपूर्तिको व्यवस्था गर्नुका साथै आगामी आर्थिक वर्षका लागि समेत बजेट सुनिश्चित गरेको स्मरण गरेका छन् ।

उनले आगामी दिनमा पनि मलको अभाव हुन नदिन सरकारले समयमै तयारी गर्नुपर्ने बताए । साथै, कालोबजारी तथा बिचौलियामाथि प्रभावकारी नियन्त्रण गर्दै किसानलाई सहज, पारदर्शी र समन्यायिक रूपमा मल वितरण गर्न सरकारसँग आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस