तर्साएर तर्सिन्न, फकाएर फकिन्न: गगन थापा

अनलाइनसमय |
२४ साउन २०८३
तर्साएर तर्सिन्न, फकाएर फकिन्न: गगन थापा

काठमाडौं, २४ साउन । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टी सञ्चालन गर्दा विधानको सीमाभन्दा बाहिर नजाने बताएका छन् ।

केन्द्रीय कार्यालय सानेपामा आइतबार बसेको केन्द्रीय समिति बैठकमा बोल्दै थापाले पार्टीभित्र आफूलाई दबाब, डर वा प्रभावमा पार्न खोजिए पनि त्यसबाट प्रभावित नहुने बताए । उनले कांग्रेसमा चार पुस्ता एकैसाथ सक्रिय रहेकाले सबैको सम्मान गर्दै पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउने बताए ।

‘तर्साएर म तर्सिन्न, दबाएर म दबिन्न, फकाएर फकिन्न,’ थापाले भने, ‘विधानको सीमा थाहा छ, विधानको सीमाभित्र बस्छु, सबैलाई जोडेर लैजाने हो ।’

पार्टीका वरिष्ठ नेताहरूप्रति आफ्नो सम्मान रहेको उल्लेख गर्दै उनले सबैसँग संवाद भइरहेको पनि बताए । विशेष महाधिवेशनमा सहभागी भएका वा नभएका आधारमा पार्टीभित्र कसैमाथि भेदभाव नगरिने उनको भनाइ थियो ।

थापाले आगामी असोजमा १५औँ महाधिवेशन गर्ने तयारी भइरहेको जानकारी दिँदै क्रियाशील सदस्यता अद्यावधिकमा छुटेकालाई समेट्नुपर्ने लगायतका कारण केही तहका अधिवेशनको कार्यतालिका हेरफेर हुन सक्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस