काठमाडौं, २४ साउन । अर्जेन्टिनाका विश्वप्रसिद्ध फुटबलर लियोनल मेस्सीका बुबा जर्ज मेस्सीको ६८ वर्षको उमेरमा निधन भएको छ ।
जर्जको निधन शुक्रबार अर्जेन्टिनाको रोसारियोस्थित एक अस्पतालमा भएको अर्जेन्टिनी सञ्चारमाध्यमले जनाएका छन् । उनको निधनको पुष्टि मेस्सीले बाल्यकालमा खेलेको क्लब न्यूवेल्स ओल्ड ब्वाईजले शनिबार गरेको हो ।
क्लबले सामाजिक सञ्जालमार्फत जर्जप्रति श्रद्धाञ्जली व्यक्त गर्दै लियोनल मेस्सीको करिअरमा उनको योगदान महत्वपूर्ण रहेको उल्लेख गरेको छ । क्लबका अनुसार पर्दापछाडिबाट जर्जले मेस्सीको यात्रामा निरन्तर साथ र नेतृत्व प्रदान गरेका थिए ।
जर्ज मेस्सी लियोनलको फुटबल करिअरका सुरुवाती दिनका महत्वपूर्ण व्यक्तिमध्ये एक थिए । धातु कारखानामा काम गरेका जर्जले अर्जेन्टिनामै छोराको प्रारम्भिक प्रशिक्षणमा सहयोग गरेका थिए । मेस्सी बाल्यकालमा बार्सिलोना पुगेपछि पनि उनी छोराको सबैभन्दा नजिकका सहयोगी र पछि एजेन्टका रूपमा सक्रिय रहे ।
सन् २००० मा १३ वर्षीय लियोनललाई फुटबल करिअरका लागि स्पेन लैजाँदा जर्जले अर्जेन्टिनाको स्थायी जागिर, श्रीमती र अन्य तीन सन्तान छाडेका थिए । त्यसपछि उनले छोराको व्यावसायिक फुटबल यात्रामा निरन्तर साथ दिँदै आएका थिए ।
जर्ज सार्वजनिक रूपमा भने निकै कम देखिन्थे र अन्तर्वार्ता पनि विरलै दिने गर्थे । तर, छोरा लियोनलसँगको आफ्नो सम्बन्धबारे बोल्दा उनी भावुक हुने गरेको बताइन्छ ।
मेस्सी परिवारले यसअघि विश्वकपका क्रममा जर्जको स्वास्थ्य अवस्थाबारे विभिन्न अफवाह फैलिएको भन्दै सञ्चारमाध्यमलाई संवेदनशीलता अपनाउन आग्रह गरेको थियो ।
जर्जको निधनपछि स्पेनिस फुटबल संघ (आरएफईएफ) ले पनि मेस्सी परिवारप्रति समवेदना व्यक्त गरेको छ । संघले स्पेनिस फुटबलको तर्फबाट लियोनल मेस्सी र उनका परिवारजनप्रति गहिरो शोकको घडीमा हार्दिक समवेदना व्यक्त गरेको जनाएको छ ।