काठमाडौं, २१ साउन । बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १३ दशमलव ८२ अङ्कले घटेको छ । यो ह्राससँगै परिसूचक २ हजार ६५४ दशमलव १५ को विन्दुमा बन्द भएको छ । अघिल्लो कारोबार दिन बुधबार परिसूचक ४ दशमलव ७९ अङ्कले बढेर २,६६७ को विन्दुमा कायम भएको थियो ।
आज परिसूचक घटे पनि कारोबार रकम भने बढेको छ । बिहीबार ४ अर्ब ४० करोडको कारोबार भएकोमा आज ४ अर्ब ६२ करोड २७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यस दिन १ करोड ८ लाख ४ हजार ४२६ कित्ता शेयर ६० हजार ३८१ पटक किनबेच भएको छ ।
बिहीबार ३४७ धितोपत्र कारोबारमा आए, जसमध्ये २०२ धितोपत्रको मूल्य घटेको छ । त्यस्तै ६४ धितोपत्रको मूल्य बढेको छ भने १० वटा धितोपत्रको मूल्य स्थिर छ ।
आज कारोबार भएका १३ समूहको उपसूचकमध्ये व्यापार समूहको ०.५९ प्रतिशतले बढ्दा बाँकी सबै समूहको उपसूचक घटेको छ । यस दिन उत्पादनमुलक समूहको उपसूचक सबैभन्दा धेरै ०.८८ प्रतिशतले घटेको छ । त्यस्तै, बैंकिङ समूहको ०.८४, निर्जीवन बीमाको ०.७३, जीवन बीमाको ०.६७, भ्युचुअल फण्डको ०.६५ र होटल एण्ड टुरिजम समूहको उपसूचक ०.४६ प्रतिशतले बढेको छ ।
बिहीबार अपर लोहर खोला हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, कालङगा हाइड्रोको ४.६५, सानीगाढ हाइड्रोको २.४६ र एभरेष्ट कलरको २.०५ प्रतिशतले शेयर मूल्य बढेको छ । आज एलएस होराइजन १२ को शेयर मूल्य सबैभन्दा धेरै ६.५० प्रतिशत घटेको छ ।