बाढी–पहिरोले देशका १७ वटा सडक खण्ड अवरुद्ध

अनलाइनसमय |
२१ साउन २०८३
बाढी–पहिरोले देशका १७ वटा सडक खण्ड अवरुद्ध

काठमाडौं, २१ साउन । अविरल वर्षापछिको बाढी–पहिरोका कारण देशका विभिन्न राजमार्ग तथा सडक खण्ड अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार सम्भावित बाढी तथा पहिरोको जोखिमलाई ध्यानमा राख्दै दुई सडक खण्डमा राती सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ भने १७ वटा राजमार्ग तथा सडक खण्ड अवरुद्ध भएका छन् ।

प्रहरीका अनुसार काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बिपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी खण्डमा साँझ ६ः०० देखि बिहान ४ः०० बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । त्यस्तै, सम्भावित बाढीको जोखिमका कारण अर्को सूचना नभएसम्म उक्त सडकमा राति आवागमन बन्द रहने र बिहान ४ः०० देखि बेलुका ६ः०० बजेसम्म भने सवारी सञ्चालन हुने जनाइएको छ ।

कान्तिलोकपथ अन्तर्गत बाग्मती गा.पा.–०३ पाङदुरमा पहिरो जाँदा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । त्यस्तै, मेची राजमार्गको इलाम न.पा.–९ राजदुवाली (झापा–ताप्लेजुङ सडक) मा पहिरो जाँदा पूर्ण रूपमा अवरुद्ध छ । तमोर–कोरिडोर सडक अन्तर्गत तुम्बेवा गा.पा.–२ नावाखोलामा बाढी आएकाले सडक पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ ।

अरनिको राजमार्गका तातोपानी जाने बाटो, चारकिलो, कोदारी र लिपिङमा पहिरो जाँदा सडक पूर्ण रूपमा अवरुद्ध छ भने लामासाघु–रामेछाप राजमार्गको तामाकोशी गा.पा.–५ किर्नेटारमा बाढीका कारण सडक बन्द छ । त्यहाँ वैकल्पिक बाटो खुलाइएको छ ।

त्यस्तै, त्रिशुली मैलुङ स्याफ्रुवेशी सडक खण्डको उत्तरगया गा.पा.–५ खाल्टेमा बाढीले आउँदा सडक पूर्ण रूपमा अवरुद्ध छ । पृथ्वी राजमार्ग अन्तर्गत इच्छाकामना गा.पा.–५ मा पहिरो जाँदा सडक पूर्ण रूपमा बन्द रहेको छ ।

कालीगण्डकी करिडोर (जैमिनी न.पा.–८ बेलबगर) र बेनी–जोमसोम सडक (रघुगंगा गा.पा.–०२ बैसेरी) मा पहिरोका खस्दा सडक बन्द छ भने मध्य पहाडी लोकमार्ग, कालीसण्डकी करिडोर र सन्धिखर्क–गोरुसिंगे सडक खण्डमा पनि सडक पूर्ण रूपमा अवरुद्ध बनेका छन् ।

यसैगरी, भेरी करिडोर (जाजरकोट–डोल्पा), नाग्म गमगढी र नाग्म सडक खण्डहरूमा बाढी तथा पहिरोका कारण यातायात पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस