काठमाडौं, ११ असार । भेनेजुएलामा बुधबार आएको शक्तिशाली भूकम्पपछि ठूलो जनधनको क्षति भएको आशंका गरिएको छ । युनाइटेड स्टेट्स जियोलोजिकल सर्वेक्षण (यूएसजीएस)का अनुसार मृतकको संख्या १० हजार नाघ्न सक्ने सम्भावना ४४ प्रतिशत रहेको प्रारम्भिक मूल्याङ्कनले देखाएको छ ।
भूकम्पपछि भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले देशभर संकटकाल घोषणा गरेकी छन् । राष्ट्रका नाममा सम्बोधन गर्दै उनले राहत तथा उद्धार कार्यलाई तीव्र बनाइएको जानकारी दिइन् । सम्बोधनका क्रममा गृहमन्त्री तथा नेसनल एसेम्बलीका प्रमुख जर्ज रोड्रिगेज पनि उपस्थित थिए ।
सरकारले उद्धार तथा राहत अभियानको समन्वय गर्न एक सैन्य जनरललाई विशेष जिम्मेवारी दिएको छ । जनवरीदेखि अन्तरिम नेतृत्व सम्हालिरहेकी रोड्रिगेजले विपत्तिको यस घडीमा नागरिकलाई एकजुट भएर सामना गर्न आग्रह गरेकी छन् । साथै, भूकम्पमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेकी छन् । यद्यपि, मृतक र घाइतेको आधिकारिक विवरण अझै सार्वजनिक भएको छैन ।
भूकम्पका कारण देशको प्रमुख अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ । सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा सार्वजनिक प्रारम्भिक दृश्यहरूमा मानिसहरू त्रसित हुँदै सडक र खुला स्थानतर्फ भागिरहेको देखिएको छ ।
स्थानीय समयअनुसार साँझ ६ बजेर ४ मिनेटमा आएको भूकम्पको केन्द्रविन्दु राजधानी काराकासको पश्चिमस्थित मोन्टाल्बान क्षेत्र रहेको बताइएको छ । केही सेकेन्डको अन्तरमा ७.२ र ७.५ म्याग्निच्युडका शक्तिशाली धक्का रेकर्ड गरिएको थियो ।
राष्ट्रपति कार्यालयलाई उद्धृत गर्दै एएफपीले जनाएअनुसार मुख्य भूकम्पपछि अहिलेसम्म २० भन्दा बढी परकम्प मापन भइसकेका छन् ।