काठमाडौं, ८ असार । बेलायती प्रधानमन्त्री कीर स्टार्मरले आज लेबर पार्टीको नेता र प्रधानमन्त्री पदबाट अलग हुने घोषणा गरेका छन् । उक्त घोषणासँगै विगत केही महिनादेखि जारी राजनीतिक उतारचढाव अन्त्य भएको छ भने उत्तराधिकारी चयनका लागि नयाँ प्रतिस्पर्धाको बाटो खुलेको छ ।
गत मे महिनामा भएको स्थानीय चुनावमा उनको पार्टीले ठूलो हार व्यहोरेपछि उनीमाथि राजीनामा दिन दबाब बढेको थियो । सन् २०२४ को आम निर्वाचनमा लेबर पार्टीलाई ऐतिहासिक बहुमत दिलाएर सत्तामा पु¥याएको दुई वर्ष पनि नपुग्दै स्टार्मरले यो कदम चालेका हुन् । नयाँ प्रधानमन्त्री चयन नभएसम्मका लागि उनले पद सम्हाल्ने बताएका छन् ।
प्रधानमन्त्रीको राजीनामासँगै बेलायतको राजनीति र आर्थिक बजारमा केही उतारचढाव देखिएको छ । डलरको तुलनामा बेलायती पैसा (पाउन्ड) को मूल्य थोरै घटेको छ। हालै भएको एउटा उपनिर्वाचनमा लेबर पार्टीकै प्रभावशाली नेता एन्डी बर्नहमले ठूलो जित निकालेका छन्, जसका कारण उनलाई अबको नयाँ प्रधानमन्त्रीको रूपमा हेर्न थालिएको छ ।
स्टार्मर सरकारले ल्याएका केही आर्थिक नीति, सामाजिक भत्तामा गरिएका फेरबदल र अमेरिकाका लागि गरिएको विवादित राजदूत नियुक्तिका कारण पार्टीभित्र र बाहिर उनको आलोचना भइरहेको थियो । हालैको एउटा सर्वेक्षणमा ५२ प्रतिशत जनताले स्टार्मरले पद छाड्नुपर्ने धारणा राखेका थिए । अब बजार र सर्वसाधारणको ध्यान नयाँ प्रधानमन्त्री को बन्ला र देशको आर्थिक अवस्था कस्तो होला भन्नेतर्फ मोडिएको छ ।