काठमाडौं, २७ वैशाख । इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कप्र्स (आईआरजीसी) को नौसेनाले इरानी तेल ट्यांकर र व्यापारिक जहाजमाथि हुने कुनै पनि आक्रमणको जवाफमा क्षेत्रस्थित अमेरिकी सैन्य अड्डा र शत्रु जहाजमाथि कडा हमला गरिनचेतावनी दिएको छ ।
सामाजिक सञ्जाल एक्समा एक विज्ञप्ति पोस्ट गर्दै भनेको छ, ‘चेतावनी ! इरानका तेल ट्यांकर र व्यापारिक जहाजहरू विरुद्धको कुनै पनि आक्रामकताको परिणाम स्वरूप यस क्षेत्रका अमेरिकी केन्द्रहरूमध्ये एक र शत्रुको जहाजहरूमाथि भारी आक्रमण हुनेछ ।’
बिहीबार र शुक्रबार हर्मुज जलमार्ग वरपर इरान र अमेरिकाबीच छिटफुट झडप भएपछि यस्तो प्रतिक्रिया आएको हो ।
इरानले फेब्रुअरी २८ देखि हर्मुज जलमार्गमा नियन्त्रण कडा बनाएको छ । अमेरिका र इजरायलले इरानी भूमिमा संयुक्त आक्रमण गरेपछि इरानले इजरायल र अमेरिकासँग सम्बन्धित जहाजहरूको आवागमन रोक लगाएको थियो ।
अमेरिकाले पनि उक्त जलमार्गमा नौसैनिक नाकाबन्दी लगाएको छ । जसका कारण इरानी बन्दरगाहतर्फ आउने–जाने जहाजहरूलाई आवतजावत गर्न रोकिएको छ । पछिल्ला दिनहरूमा अमेरिकी सेनाले केही इरानी जहाज र तेल ट्यांकरमाथि आक्रमण गरेको बताइएको छ ।
यसैबीच आईआरजीसी को एरोस्पेस डिभिजनले अर्को पोस्टमार्फत आफ्ना मिसाइल र ड्रोनहरूले क्षेत्रस्थित अमेरिकी लक्ष्य र आक्रामक शत्रु का जहाजलाई निशानामा लिइसकेको जनाएको छ । ‘हामी केवल आक्रमणको आदेशको प्रतीक्षामा छौं,’ पोस्टमा भनिएको छ ।