अमेरिकाद्वारा इरानी ‘फास्ट बोट’माथि आक्रमण, इरानको निशानामा यूएई

अनलाइनसमय |
२२ वैशाख २०८३
अमेरिकाद्वारा इरानी ‘फास्ट बोट’माथि आक्रमण, इरानको निशानामा यूएई

काठमाडौं, २२ वैशाख । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले स्ट्रेट अफ होर्मुजमा अमेरिकाले तीव्र गतिका साना ७ वटा इरानी ’फास्ट बोट’ माथि आक्रमण गरेको बताएका छन् । वाशिङ्टनले बन्द जस्तै रहेको जलमार्गबाट खाडीमा फसेका जहाजहरूलाई बाहिर निकाल्न त्यसो गरेको बताइएको बीबीसीमा उल्लेख छ ।

संयुक्त अरब एमिरेट्स (यूएई) र दक्षिण कोरिया दुवैले सोमवार पानीजहाजहरूमाथि आक्रमण भएको बताएका थिए । इरानको आक्रमणपछि फुजेराको इन्धन बन्दरगाहमा आगलागी भएको यूएईले जनाएको छ ।

इरानका विदेशमन्त्री अब्बास अराघचीले जलडमरूमध्यमा भएका घटनाले राजनीतिक संकटको कुनै सैन्य समाधान नभएको स्पष्ट पारेको बताएका छन् । उनले थपे, ‘प्रोजेक्ट फ्रिडम वास्तवमा ‘प्रोजेक्ट डेडलक’ हो ।’

फेब्रुअरीमा अमेरिका र इजरायलले इरानमाथि हवाई आक्रमण गरेपछि होर्मुज जलडमरूमध्य अधिकांश समय बन्दजस्तै रहेको छ । त्यसपछि इरानले विश्वको करिब २० प्रतिशत तेल र तरल प्राकृतिक ग्यास बोक्ने यो महत्वपूर्ण मार्ग बन्द गरिदिएको थियो ।

अप्रिलको सुरुवातमा अमेरिका र इरानबीच युद्धविराम भएको थियो, जसअन्तर्गत इरानले यूएईलगायत खाडी देशहरूमाथि ड्रोन र मिसाइल आक्रमण रेकेको थियो । तर त्यसपछि पनि धेरै जहाजहरू जलडमरूमध्य पार गर्न सकेका थिएनन् । अमेरिकाले इरानी बन्दरगाहहरूमा आफ्नै नाकाबन्दी पनि लगाएको छ ।

ट्रम्पले भने, ‘हामीले सात वटा साना डुंगाहरू (फास्ट बोट) ध्वस्त पार्यौं । अब उनीहरूसँग त्यही मात्र बाँकी छ ।’ अमेरिकी सेनाले हेलिकोप्टर प्रयोग गरेर आक्रमण गरेको जनाएको छ ।

तर इरानी सरकारी मिडियाले ट्रम्पको दाबी अस्वीकार गरेको छ । तस्निम समाचार एजेन्सीले सैन्य स्रोतलाई उद्धृत गर्दै दुई साना कार्गो जहाजमा आक्रमण भएको र पाँच जना सर्वसाधारणको मृत्यु भएको दाबी गरेको छ ।

अमेरिकाले यसअघि आफ्ना नौसेना विध्वंसक जहाजहरू र अमेरिकी झण्डा बोकेका व्यापारिक जहाजहरू सोमबार जलडमरूमध्यबाट गुज्रिएको जनाएको थियो । इरानले यसलाई ‘पूर्ण रूपमा झुटो’ भनेको छ र आफ्नो सेनाले अमेरिकी युद्धपोततर्फ चेतावनी गोली चलाएको दाबी गरेको छ, जुन अमेरिकाले अस्वीकार गरेको छ ।

उता, यूएईले आफ्नो राज्य स्वामित्वको तेल कम्पनी एडनोकसँग सम्बन्धित एक ट्यांकरमा आक्रमण भएको जनाएको छ । दक्षिण कोरियाले पनि यूएई नजिकै आफ्नो जहाजमा विस्फोट भएको जानकारी दिएको छ ।

यूएईका अधिकारीहरूका अनुसार वायु प्रतिरक्षा प्रणालीले १२ वटा ब्यालिस्टिक मिसाइल, तीन वटा क्रुज मिसाइल र चार वटा ड्रोनलाई रोकेको छ । फुजैराहमा भएको आक्रमणले ठूलो आगलागी र तीन जना घाइते भएको बताइएको छ ।

भारतले घाइते तीनै जना आफ्ना नागरिक भएको जनाएको छ र उक्त आक्रमणलाई ‘अस्वीकार्य’ भनेको छ ।

अबुधाबीले यसलाई ‘खतरनाक तनाव वृद्धि’ भनेको छ र प्रतिक्रिया जनाउने अधिकार सुरक्षित राखेको जनाएको छ । तर इरानी टेलिभिजनले एक अज्ञात सैन्य अधिकारीलाई उद्धृत गर्दै यूएईलाई लक्षित गर्ने योजना नरहेको जनाएको छ ।

अन्तर्राष्ट्रिय नेताहरूले यूएईको पूर्वाधारमा भएको आक्रमणको निन्दा गरेका छन् । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोंले यसलाई ‘अनुचित र अस्वीकार्य’ भनेका छन् भने बेलायती प्रधानमन्त्री कियर स्टार्मरले खाडी क्षेत्रका साझेदारहरूको सुरक्षामा सहयोग जारी रहने बताएका छन् ।

जर्मन चान्सलर फ्रेडरिक मर्जले जलडमरूमध्यको नाकाबन्दी अन्त्य गर्न आह्वान गर्दै इरानलाई वार्तामा फर्कन आग्रह गरेका छन् । साउदी अरेबियाले इरानलाई ‘छिमेकी सम्बन्धका सिद्धान्तहरू सम्मान गर्न’ आग्रह गरेको छ ।

फुजैराहमा आक्रमणको खबरपछि ब्रेन्ट कच्चा तेलको मूल्य प्रति ब्यारेल ११५ डलर नाघेको छ, जुन दिनमै ५ प्रतिशत भन्दा बढी वृद्धि हो ।

फुजैराह यूएईको पूर्वी किनारमा, होर्मुज जलडमरूमध्यभन्दा बाहिर अवस्थित छ । अबुधाबीका तेल क्षेत्रबाट त्यहाँसम्म पाइपलाइन भएकाले केही मात्रामा तेल निर्यात सम्भव छ, यद्यपि जलडमरूमध्य प्रभावकारी रूपमा बन्द छ । कतारले पनि उक्त आक्रमणको निन्दा गर्दै जलमार्ग तुरुन्त खोल्न माग गरेको छ ।

ओमानमा पनि जलडमरूमध्य नजिकैको बुखा क्षेत्रमा एक आवासीय भवनमा आक्रमण हुँदा दुई जना घाइते भएका छन् ।
आइतबार ट्रम्पले ‘प्रोजेक्ट फ्रिडम’ अन्तर्गत अड्किएका जहाजहरूलाई बाहिर निकाल्ने सहयोग सुरु गर्ने बताएका थिए । फेब्रुअरीदेखि सुरु भएको युद्धपछि करिब २,००० जहाजका २०,००० नाविकहरू त्यहाँ अड्किएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस