हर्मुजमा फसेका जहाजहरू निकाल्ने अमेरिकाको घोषणा, १५ हजार सेना र विमान परिचालन गरिने

अनलाइनसमय |
२१ वैशाख २०८३
हर्मुजमा फसेका जहाजहरू निकाल्ने अमेरिकाको घोषणा, १५ हजार सेना र विमान परिचालन गरिने

काठमाडौं, २१ वैशाख । स्ट्रेट अफ हर्मुजमा इरानले रोकेको जहाजहरूलाई सुरक्षित बाहिर निकाल्न अमेरिकाले सहयोग गर्ने घोषणा गरेको छ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘प्रोजेक्ट फ्रिडम’ नाम दिएर हर्मुजमा अड्किएका जहाजहरूलाई बाहिर निकाल्न सुरू गरिने घोषणा गरेका हुन् ।

उनले सोमबारदेखि नै यो अभियान सुरू हुने बताएका छन् । हर्मुजमा फसेका जहाज तथा तिनका चालकलाई अमेरिकी सुरक्षासहित बाहिर निकालिने बताएका छन् ।

उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘इरान, मध्यपूर्व र अमेरिकाको हितका लागि, हामीले केही देशहरूलाई भनेका छौँ कि हामी उनीहरूको जहाजहरूलाई यी प्रतिबन्धित पानीबाट सुरक्षित रूपमा बाहिर निकाल्न मद्दत गर्नेछौँ ।’ तर कुन देशलाई सहयोग गरिने हो भन्ने खुलाएनन् ।

गत फेब्रुअरीमा सुरु भएको युद्धपछि इरानले यस महत्वपूर्ण जलमार्गमा जहाज आवागमन कडाइका साथ सीमित गरेको छ । अमेरिकाले पनि इरानी बन्दरगाहहरूमा नौसैनिक नाकाबन्दी लागू गरेको छ ।

इरानका वरिष्ठ सांसद एब्राहिम अजीजीले सामाजिक सञ्जालमार्फत अमेरिकाको कुनै पनि हस्तक्षेप युद्धविराम उल्लंघन मानिने’ बताएका छन् ।

ट्रम्पले आफ्नो पोस्टमा अमेरिकी प्रतिनिधिहरू र इरानबीच ‘धेरै सकारात्मक’ वार्ता भइरहेको र त्यसले सबैका लागि राम्रो नतिजा दिन सक्ने बताएका छन् । उनले यो अभियानलाई ‘मानवीय पहल’ भएको भन्दै अमेरिका, इरान र अन्य मध्यपूर्वी देशहरूको तर्फबाट गरिएको बताए, तर कुन देशहरू समावेश छन् भन्ने खुलाएका छैनन् ।

यूएस सेन्ट्रल कमाण्डका अनुसार अभियानमा १५ हजार सैनिक, युद्धपोत र १०० भन्दा बढी विमान परिचालन गरिनेछ । युद्धका कारण खाडी क्षेत्रमा करिब २० हजार नाविक अलपत्र परेका छन् ।

विश्वको करिब २० प्रतिशत तेल र ग्यास यही मार्गबाट जाने भएकाले द्वन्द्वले ऊर्जा मूल्यमा असर परेको छ । यसैबीच नाइटेड किङ्गडम म्यारिटाइम ट्रेड अपरेसन्सले एक ट्यांकरमाथि आक्रमण भएको जनाएको छ, तर चालक दल सुरक्षित रहेको बताएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस