काठमाडौं, १६ वैशाख । आज देशका विभिन्न स्थानमा तीव्र गतिको हावाहुरी चल्ने जल तथा मौसम विज्ञान विभागले पूर्वानुमान गरेको छ । विभागका अनुसार कर्णाली बाहेक सबै प्रदेशमा तीव्र हावाहुरीको सम्भावना छ ।
विभागले आज बिहान ८ बजे विशेष बुलेटिन जारी गर्दै अपराह्न ४ बजेदेखि भोलि बिहान ६ः४५ बजेसम्म तीव्र गतिको हावाहुरी चल्ने सम्भावना रहेको भन्दै आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।
विभागका अनुसार सुदूरपश्चिम प्रदेशको कञ्चनपुर, डडेलधुरा र डोटीसहित आसपासका जिल्लामा हावाहुरी चल्नेछ । यसैगरी लुम्बिनी प्रदेशका बर्दिया, बाँके, दाङ, अर्घाखाँची, नवलपरासीसहित आसपासका क्षेत्रमा तीव्र गतिमा हावाहुरी चल्ने विभागले जनाएको छ ।
गण्डकी प्रदेशको नवलपुर र बागमती प्रदेशको चितवन आसपासका जिल्ला, मधेश प्रदेशका बारा, पर्सा र धनुषासहित आसपासका जिल्लामा पनि हावाहुरीबाट प्रभावित हुनसक्ने विभागले जनाएको छ ।
त्यस्तै, कोशी प्रदेशका झापा र मोरङसहित आसपासका जिल्लामा पनि तीव्र हावाहुरी चल्ने बुलेटिनमा उल्लेख छ ।
विभागका अनुसार हावाहुरीसँगै मेघगर्जन, चट्याङ सहित असिना पानी पर्ने प्रणाली पनि पश्चिमबाट पूर्वतिर सर्दै जाने सम्भावना छ । देशका धेरै ठाउँहरुमा यसको प्रभाव पर्ने सम्भावना भएकाले सतर्कना अपनाउन विभागले सबैलाई अनुरोध गरेको छ ।
