काठमाडौं, १५ वैशाख । आज र भोलि कोशी, बाग्मती र गण्डकीका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले पूर्वानुमान गरेको छ ।
हाल नेपालमा पश्चिमी र स्थानीय वायूको साथै नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । अहिले गण्डकी प्रदेशको थोरै स्थान तथा बागमती र कर्णाली प्रदेशको एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ ।

आज कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेकोले विभागले अवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।
त्यस्तै, कोशी, मधेश, बागमती र गण्डकी प्रदेशको धेरै स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको पहाडी र हिमाली भू–भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यम सम्मको वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।

यसैगरी १६ गते बुधबार पनि कोशी प्रदेशको हिमाली र पहाडी भू–भाग तथा गण्डकी प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित भारी वर्षा तथा हिमपातको पनी सम्भावना रहेको छ । तराई भू–भागका केही स्थानहरुमा हावाहुरीको पनि सम्भावना रहेको विभागले जनाएको छ ।
दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको केही स्थानहरूमा तथा मधेश लगायत लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको पहाडी र हिमाली भू–भागका थोरै स्थानहरूमा साथै लुम्बिनी र सुदुरपश्चिम प्रदेशको तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।
