काठमाडौं, ४ वैशाख । हिमालय टेलिभिजन नेटवर्क र अनलाइनखबर डटकमको समूह सम्पादकमा पत्रकार उमेश चौहान नियुक्त भएका छन् । हिमालय टिभीको कार्यालय, मध्यबानेश्वरमा शुक्रवार हिमालय टिभीका अध्यक्ष धर्मराज भुसाल र कार्यकारी निर्देशक श्याम कडेलले चौहानलाई स्वागत गरे ।
स्वागत कार्यक्रममा अध्यक्ष भुसालले नेपालको मिडिया क्षेत्र र विशेषगरी टेलिभिजन क्षेत्रमा बढ्दो चुनौतीका बीच थप जिम्मेवारी, रणनीति र व्यावसायिकताका साथ अघि बढ्ने आकांक्षासहित आफूह अघि बढेको भन्दै चौहानको नेतृत्व यसमा कोशेढुंगा सावित हुने अपेक्षा गरे ।
यसैगरी, कार्यकारी निर्देशक कडेलले नेपालको राजनीति तथा आर्थिक वृत्तमा बदलिँदो परिवेशमा टेलिभिजन पत्रकारितालाई अझै सुव्यवस्थित, समावेशी र प्रभावकारी बनाउने हिमालय टेलिभिजनको मार्गदिशामा चौहानको उपस्थितिले थप उत्साह प्रदान गरेको बताए ।
नवनियुक्त प्रधान सम्पादक चौहानले पत्रकारिताको व्यावसायिक सिपबाट समेत आफूले सिकेर आगामी दिनमा समाचार कक्षलाई नेतृत्व गर्ने प्रतिबद्धता जनाए । यसका लागि सम्पूर्ण टिमको विशेष साथ, सहयोग र सहकार्य आफूले अपेक्षा गरेको उनले उल्लेख गरे । टेलिभिजन पत्रकारिता सधैं उत्तिकै शक्तिशाली रहेको भन्दै उनले यसलाई थप सुदृढ बनाउन आफू प्रतिबद्ध रहने बताए ।
चौहान कान्तिपुर दैनिकका प्रधान सम्पादकको भूमिकामा थिए । अर्घाखाँचीका चौहानले पूर्वाञ्चल विश्वविद्यालयबाट आमसञ्चार र पत्रकारिता विषयमा स्नातकोत्तर गरेका छन् ।