परराष्ट्रमन्त्री राणा र युक्रेनका विदेशमन्त्रीबीच भेटवार्ता, युक्रेनबाट ७ नेपालीलाई रिहाइ गरिदिन आग्रह

अनलाइनसमय |
४ चैत २०८१
परराष्ट्रमन्त्री राणा र युक्रेनका विदेशमन्त्रीबीच भेटवार्ता, युक्रेनबाट ७ नेपालीलाई रिहाइ गरिदिन आग्रह

काठमाडौं, ५ चैत । परराष्ट्रमन्त्री आरजु राणा देउवाले युक्रेनको विदेशमन्त्री आन्द्रिई सिबिहासँग भेटवार्ता गरेकी छन् ।
भारतीय विदेश मन्त्रालयद्वारा नयाँ दिल्लीमा आयोजित राइसिना डायलग कार्यक्रमका लागि त्यहाँ रहेका उनीहरुबीच आज भेटवार्ता भएको हो ।

भेटका क्रममा नेपाल युक्रेन सम्बन्ध र आपसी हितका विविध विषयहरुमा कुराकानी भएको थियो । त्यस अवसरमा मन्त्री डा राणाले युक्रेनी सैनिकको नियन्त्रणमा रहेका सात नेपाली नागरिकको रिहाइका लागि उहाँमार्फत युक्रेन सरकारसँग आग्रह गरेकी थिइन् ।

उनीहरुलाई नेपालको दुर्गम क्षेत्रबाट जबर्जस्ती लगेर रुसी सेनामा भर्ना गरिएको सूचना नेपाल सरकारले पाएको जानकारी दिँदै उनले ती सात नेपालीको मुक्तिका लागि युक्रेनी विदेशमन्त्रीसँग आग्रह गरिन् ।

भेटका क्रममा युक्रेनी विदेशमन्त्री सिबिहाले कानुनी प्रक्रिया पूरा गरेर उनीहरुलाई रिहा गरिने प्रतिबद्धता व्यक्त गरेका थिए ।
साथै मन्त्री डा राणाले नेपालले सन् २०२७ देखि २०२९ का लागि संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदको सदस्यलगायतमा उम्मेदवारी दिएकाले त्यसमा युक्रेन सरकारको सहयोगका लागि आग्रह गरिन् ।

यसैबीच दुई देशकाबीचमा सरकारी एवं डिप्लोम्याटिक पासपोर्ट बाहकलाई निःशुल्क भिसासम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको परराष्ट्र मन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस