पाँच वर्षमा विदेशिए साढे ६ लाख विद्यार्थी, बाहिरिने रकम वार्षिक खर्बभन्दा बढी

अनलाइनसमय |
२२ फागुन २०८१
पाँच वर्षमा विदेशिए साढे ६ लाख विद्यार्थी, बाहिरिने रकम वार्षिक खर्बभन्दा बढी

सुनिता सुवेदी,

काठमाडौं, २२ फागुन । विद्यालय शिक्षा, विशेषगरी कक्षा १२ उत्तीर्ण गर्नु विद्यार्थीको जीवनको एक महत्वपूर्ण क्षण हो । यो एउटा यस्तो क्षण हो, जहाँ उनीहरू जीवनको नयाँ अध्यायमा प्रवेश गर्छन्, नयाँ यात्रामा ऊसँग सपनाका नक्सा, लक्ष्यका योजना र सम्भावनाका अनगिन्ती बाटाहरू हुन्छन् । यी बाटामध्ये एक हो, उच्च शिक्षा ! यो भविष्यको दिशा निर्धारण गर्ने उज्यालो मार्ग हो । उच्च शिक्षा यात्रा केवल एउटा औपचारिक अध्ययन मात्र नभई भविष्य निर्माण गर्ने आधारशिला हो । यही तहमा विद्यार्थीको रोजाइमा पर्ने विषय, रुचि र सीपले उनीहरूको करियरको बाटो निर्धारण गर्छ । उच्च शिक्षाले नै विद्यार्थीलाई सफलता, उपलब्धि र आत्मसन्तुष्टिको संसारसम्म पुर्‍याउँछ ।

यसैको अलावा पछिल्लो समय उच्च शिक्षा अध्ययनका लागि विद्यार्थीहरू विदेश जाने क्रम बढ्दो छ ।

शिक्षा मन्त्रालयका अनुसार पछिल्लो पाँच वर्षमा उच्च शिक्षा अध्ययनका लागि ६ लाख ६८ हजार ९६८ जनाले ‘नो अब्जेक्शन लेटर’ (एनओसी) लिएका छन् ।

चालू आर्थिक वर्ष २०८१/८२ को सात महिनामा करिब १ लाख जनाले एनओसी लिइसकेका छन् । मन्त्रालयका अनुसार फागुन ७ गतेसम्ममा ९२ हजार ६७३ जनाले वैदेशिक अध्ययनमा जान एनओसी लिएका छन् ।

पछिल्ला वर्षमा उच्च शिक्षा अध्ययनका नाममा विदेशिने विद्यार्थीको सङ्ख्या लगातार बढ्दै गएकोमा गत वर्ष केही नियन्त्रणमा आएको थियो, तर चालू वर्षको सात महिनामा जुन किसिमले एनओसी लिएका विद्यार्थीको सङ्ख्या देखिएको छ, यस वर्ष विद्यार्थी भिसा सिजन भर्खरै सुरुवात भएकाले यही लयमा गए गत वर्षकोभन्दा बढ्नेछ ।

आर्थिक वर्ष २०७७/७८ मा अध्ययन गर्न विदेश जाने विद्यार्थीको सङ्ख्या ४० हजार ४७७ मात्र थियो । त्यसको पछिल्लो वर्ष यस्ता विद्यार्थीको सङ्ख्या दोब्बरले बढ्यो । आव २०७८/७९ मा वैदेशिक अध्ययनमा जान १ लाख ४९ हजार ६५१ विद्यार्थीले एनओसी लिएका थिए । अर्थात् अघिल्लो आवको तुलनामा यस्तो सङ्ख्या २६९ प्रतिशतले बढेको थियो । आव २०७९/८० मा वैदेशिक अध्ययनमा जाने विद्यार्थीको सङ्ख्या ३१.९८ प्रतिशतले बढेको थियो । सो वर्ष १ लाख ९७ हजार ५१२ जनाले नो अब्जेक्शन लेटर लिएका थिए ।

यसोत पछिल्लो समय अभिभावक होस् अथवा विद्यार्थी पढ्नको लागि राम्रा विषय तथा क्याम्पसहरू खोजी गर्छन् ।

शिक्षाविद् विष्णु कार्की पछिल्लो समय अभिभावकमा अफ्ना बच्चालाई राम्रो विश्वविद्यालयमा पढाउनुपर्ने मानसिकता बढिरहेको बताउँछन । ‘पछिल्लो समय अभिभावक आर्थिक रूपमा सक्षम हुँदै गएका छन् । उनीहरूमा शिक्षामा लगानी गर्नुपर्छ, आफ्ना छोराछोरीलाई राम्रो शिक्षा दिनुपर्छ भन्ने चेतना पनि छ । यो नै शिक्षा विकासको लागि महत्वपूर्ण अवस्था हो,’ उनले भने, ‘अष्ट्रेलिया अमेरिका जाने विद्यार्थीहरू पढाईसँगै काम पनि गरिरहेका हुन्छन् । तर अहिले भारतमा थुप्रै नेपाली विद्यार्थी अध्ययनरत छन् कति भारत गए त्यो तथ्याङ्क छैन । उनीहरू काम गरेर नभई परिवारकै लगानीमा पढिरहेका छन् ।’

यता शिक्षा मन्त्रालयअन्र्तगत रहेको उच्च शिक्षा महाशाखाका उपसचिव रमेश प्रसाद घिमिरे पछिल्लो समय अध्ययनका लागि विदेश जाने विश्वव्यापी प्रवृत्ति नै बनिसकेको बताउँछन् । यसमा शिक्षा मात्र नभएर आर्थिक तथा सामाजिक प्रभाव पनि परिरहेको उनले बताए । घिमिरेले भने, ‘विदेशमा जाँदा त्यहाँको डिग्रीको अन्तरराष्ट्रिय भ्यालू बढी हुने र आफूले चाहेको काममा सजिलै प्रवेश गर्न सकिने भएकाले विदेश पढ्न जान लागेको विद्यार्थीबाट प्रतिक्रिया आउँछ ।’

 

यस्तो छ उच्च शिक्षा अध्ययनका लागि एनओसी लिने र बाहिरिएको रकमको अवस्था

स्रोत: शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र नेपाल राष्ट्र बैंक

 

विद्यार्थीसँगै बढ्दै बाहिरिने रकम

पढ्नका लागि विदेशिने विद्यार्थीको सङ्ख्या बढ्दा उच्च शिक्षाका निम्ति नेपालबाट बाहिरिने रकम पनि बढ्दै गएको छ । वर्षेनी यस्तो रकम बाहिरिने क्रम बढ्दो छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार पछिल्लो पाँच वर्षमा ३ खर्ब ७५ अर्ब रुपैयाँ बराबरको रकम उच्च शिक्षाका लागि बाहिरिसकेको छ ।

चालू आर्थिक वर्षको सात महिनामै ५६ अर्ब ८३ करोड रुपैयाँ रकम बाहिरिसकेको छ । आर्थिक वर्ष २०७७÷७८ मा यस्तो रकम २४ अर्ब ९६ करोड मात्र थियो । यस पछिका वर्षमा लगातार उच्च शिक्षाका नाममा बाहिरिने रकम बढिरहेको तथ्याङ्कले देखाउँछ ।

आव २०७८/७९ मा यस्तो रमक १७१ दशमलव २३ प्रतिशतले बढेर ६७ अर्ब ७० करोड पुगेको थियो । त्यस्तै पछिल्लो वर्ष उच्च शिक्षा अध्ययनको लागि विदेशिने रकम ४८ दशमलव ३३ प्रतिशतले बढेको थियो । सो वर्ष १ खर्ब ४२ करोड रुपैयाँ बाहिरिएको थियो । आव २०८०/८१ मा उच्च शिक्षा अध्ययन गर्न जाने विद्यार्थीले १ खर्ब २५ अर्ब १३ करोड रुपैयाँ सटही सुविधा लिएको राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख छ ।

हाम्रोजस्तो विकासशील देशमा यसरी दिनहुँ रकम बाहिरिरहँदा विदेशी विनिमय सञ्चितिमा समेत दबाब पर्छ । नेपाल राष्ट्र बैंकका प्रवक्ता रामु पौडेल उच्च शिक्षाका नाममा बाहिरिरहेको रकमले अहिले विदेशी विनिमय व्यवस्थापन तथा सन्तुलनमा राख्न चुनौती भने तत्काल नदेखिएको बताउँछ्न । उनले भने, ‘यो नियमित प्रक्रिया हो । विदेश अध्ययन गर्न जाने विद्यार्थीहरूले सटही सुविधा पाउने जुन व्यवस्था छ, अघिल्ला वर्षमा पनि गइरहेकै थियो । प्रत्येक वर्षमा यस्तो रकम बढिरहेको छ । अहिलेलाई हामीसँग विदेशी विनिमय सञ्चिति पर्याप्त नै छ । हामीसँग कम हुँदा पनि कसैलाई रोकेका थिएनौं । नेपालमै विश्व विद्यालय, क्याम्पस लगायत शिक्षा प्रणालीमै विकास गर्न सकिए यस्तो रकम रोक्न सकिन्छ ।’

 

‘लगानी बढाउँदैमा शिक्षामा गुणस्तर बढ्दैन’

पछिल्ला वर्षमा सरकारले समेत शिक्षा क्षेत्रमा लगानी बढाउँदै लगेको देखिन्छ । शिक्षा क्षेत्रमा सरकारले ल्याइरहेको विभिन्न कार्यक्रम तथा नीतिनियमले विगतका वर्षमा भन्दा केही सुधार हुँदै गएको छ । यसो त नेपालमै पनि दर्जनौं विश्वविद्यालय छन् । विदेशमा पढाइने विषय नेपालमै कम मूल्यमा पढ्न पाइन्छ । तर पनि नेपाली विद्यार्थी घरआँगनको क्याम्पस छोडेर पढ्नकै लागि विदेशी भूमिमा गइरहेका छन् । यस्तो प्रवृत्ति बढ्दा कतै नेपालको शिक्षा नै कमजोर हुँदै गएको त होइन भन्ने प्रश्न पनि उब्जन्छ ।

यता शिक्षाविद् कार्की नेपालको शिक्षा अझै पनि गुणस्तरीय हुन नसकेको बताउँछन् । पछिल्लो समय शिक्षा प्रणाली नै धराशयी बन्दै गएको उनले बताए । उनी भन्छन्, ‘नेपालमा शिक्षा क्षेत्र राम्रो हुन नसक्नु नै विश्वविद्यालयमा राजनीतीकरण बढ्नु हो । सोसल वर्कर, विश्वविद्यालयका विद्यार्थी, प्रोफेसरले राजनीति गर्ने जुन वातावरण बनिसकेको छ, यो शिक्षा ध्वस्त पार्ने अवस्था हो । यसलाई अहिले सुधारिएन भने योभन्दा भयावह हुन्छ । हामीले धरै विद्यार्थीहरू विदेश गए भनिररहेका छौं, तर विद्यालय तथा उच्च तहको शिक्षा गुणस्तरीय नै भएन ।’

लगानी बढाउँदैमा शिक्षा गुणस्तरीय नहुने उनको भनाइ छ । ‘शिक्षामा गुणस्तर बढाउनको लागि जति लगानी गर्नुपर्छ, त्यति लगानी पनि गरिरहेका छैनौं । जसले गर्दा यसमा क्वालिटी अइरहेको छैन,’ उनी प्रश्न गर्छन्, ‘पैसा थप्दैमा गुणस्तर बढ्छ ? यो झन् दुरुपयोग बढ्छ । यसको पहिलो शर्त नै शिक्षामा राजनीतीकरण बन्द गर्नुपर्छ ।’

पाँच वर्षमा शिक्षा क्षेत्रको संघीय बजेट (रू. अर्बमा)

स्रोत: अर्थ मन्त्रालय

यसैगरी पछिल्लो समय नेपाली विद्यार्थीको आकर्षण अष्ट्रेलिया, जापान, बेलायत जस्ता मुलुकमा देखिएको छ । मन्त्रालयको तथ्याङ्क अनुसार पाँच वर्षमा अष्ट्रेलियाका लागि सबैभन्दा धेरै २ लाख ५ हजार ३९८ विद्यार्थीले एनओसी लिएका छन् ।

पछिल्ला वर्षमा जापान, बेलायत र भारतमा पढ्न जाने विद्यार्थीको सङ्ख्या निरन्तर बढिरहेको छ । जापानका लागि चालू आवको फागुन ७ गतेसम्ममा १५ हजार ६ सय ७५ जनाले एनओसी लिइसकेका छन् । आर्थिक वर्ष २०७७७८ मा ११ हजार १४४ जनाले एनओसी लिएका थिए भने २०७८७९ मा १९ हजार १४८ जनाले एनओसी लिएर जापान गएका थिए । त्यस्तै आव २०७९८० मा २१ हजार ७२४ र पछिल्लो वर्ष ४८ हजार ४७४ विद्यार्थी जापान गएका छन् ।

त्यस्तै बेलायतमा अध्ययन गर्न जानलाई चालू आवको फागुन ७ गतेसम्ममा २७ हजार ३५२ जनाले एनओसी लिइसकेका छन् । गत वर्षमा त्यहाँ जान २७ हजार ४४२ विद्यार्थीले एनओसी लिएका थिए ।

कुन देशका लागि कतिले लिए एनओसी ?

स्रोत: शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय

‘एनओसी लिने सबै विदेश जाँदैनन्’

उच्च शिक्षा महाशाखाका उपसचिव घिमिरेले एनओसी लिएका सबै विद्यार्थी विदेश नजाने बताउँछन् । ‘एनओसी लिएका सबै विद्यार्थी विदेश जान्छन् भन्ने हुँदैन । जतिले एनओसीका लागि निवेदन दिन्छन् । त्यसमध्ये कसैको एनओसी लिए पनि कुनै कारण विद्यार्थी विदेश गएको हुँदैन, कसैको भिसा रिजेक्ट हुन्छ । कसैलाई एप्लाई गरेको कलेज विषय मन परेको हुँदैन । अनि फेरि उनीहरू एनओसी लिन आउँछन्,’ उनले भने । पहिलो पटक आएको एनओसी निवेदन रद्द गरेर नयाँ कायम गरिने घिमिरेले बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस