काठमाडौं, ८ फागुन । चालू आर्थिक वर्ष (आव)को ७ महिनामा नेपालले १५९ मुलुकसँग वैदेशिक व्यापार गरेको छ । जसमध्ये १२४ देशसँग व्यापार घाटामा हुँदा ३५ देशसँग मात्रै बचतमा रहेको भन्सार विभागको तथ्याङ्कले देखाउँछ ।
गत माघ मसान्तसम्ममा नेपालले व्यापार गरेको मुलुकमध्ये सबैभन्दा धेरै व्यापार घाटा छिमेकी मुलुक भारतसँग भएको छ । भारतसँग ४ खर्ब ९८ अर्ब ३४ करोड रुपैयाँ बराबरको व्यापार घाटा भएको हो । सो अवधिमा भारतबाट ५ खर्ब ९६ अर्ब ३५ करोडको सामान भित्रिएको छ भने ९८ अर्बको मात्रै निर्यात गरेको छ ।
अर्को छिमेकी मुलुक चीनसँग पनि नेपाल व्यापार घाटामै छ । चीन भारतपछि सबैभन्दा धेरै व्यापार घाटा हुने मुलुक हो । आवको ७ महिनामा नेपालले चीनसँग १ खर्ब ९० अर्ब ४४ करोड रुपैयाँ व्यापार घाटा बेहोरेको छ । सो अवधिमा १ खर्ब ९२ अर्ब ४५ करोडको सामान आयात हुँदा २ अर्ब १४ करोडको मात्रै निर्यात भएको छ । यसपछि अर्जेन्टीना, युक्रेन र यूनाइटटेड अरव इमिरेट्स (युएई) क्रमशः धेरै व्यापार घाटा भएका मुलुकहरू हुन् ।
व्यापार घाटामा रहेका पाँच मुलुक (रू. हजारमा)

स्रोत : भन्सार विभाग
चालू आवको माघ मसान्तसम्ममा नेपाल सबैभन्दा बढी व्यापार बचतमा रहेको मुलुक अफगानिस्तान हो । अफगानिस्थानबाट १ करोड २४ लाखको सामान भित्रिएको छ । सो अवधिमा नेपालबाट भने ५९ करोड ४५ लाखको निर्यात गरेको छ ।
आवको ७ महिनामा दोस्रो धेरै व्यापार बचतमा डेनमार्क रहेको छ । डेनमार्कबाट २५ करोड ६० लाखको सामान आयात हुँदा ४० करोड बराबरको निर्यात गरेको छ । यसपछि रूसी महासंघ, अष्ट्रिया र नर्वे क्रमशः बढी व्यापार बचतमा रहेका छन् ।
बचतमा रहेका पाँच मुलुक (रू. हजारमा)

स्रोत : भन्सार विभाग