काठमाडौं, ६ फागुन । आन्तरिक ऋण उठाउने प्रयोजनका लागि नेपाल सरकारले पुनः १० अर्ब रूपैयाँको विकास ऋणपत्र बिक्री गर्न लागेको छ ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले मंगलबार सूचना जारी गर्दै ९ वर्ष अवधि रहेको विकास ऋणपत्र बोलकबोलमार्फत बिक्री गर्ने भएको हो ।
नेपाल सरकार अर्थ मन्त्रालय अन्तर्गत रहेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले नेपाल सरकारको ९ वर्षे विकास ऋणपत्र–२०९० भदौ ८ गते बोलकबोल मार्फत बिक्री गर्ने सूचनामा उल्लेख छ । ऋणपत्र खरिद गर्न चाहनेले सो दिन बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म बोलकबोल गर्न सक्नेछन् ।
ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाल नागरिकले खरिद गर्न सक्नेछन् । ऋणपत्रमा घटीमा ५ लाख र बढीमा कुल निष्कासित रकमको सीमामा नबढाई पाँच लाखले भाग गर्दा निःशेष भाग जाने अंकमा लगानी गर्न सकिने कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।
ऋणपत्रको ब्याजदर बोलकबोलबाट निर्धारण हुने कार्यालयले जनाएको छ । उक्त ऋणपत्रको निश्कासन फागुन ९ गते हुनेछ ।
यो ऋणपत्र धितो राखेर बैंक तथा वित्तीय संस्था र राष्ट्र बैंकबाट ऋण लिन सकिन्छ भने ऋणपत्रको ब्याज अर्धवार्षिक रूपमा भुक्तानी हुनेछ ।