होटलमा वार्षिक साढे १४ प्रतिशत कर्जा विस्तार, पाँच वर्षमा ८२ अर्ब प्रवाह

अनलाइनसमय |
२७ माघ २०८१
होटलमा वार्षिक साढे १४ प्रतिशत कर्जा विस्तार, पाँच वर्षमा ८२ अर्ब प्रवाह

सुनिता सुवेदी,

काठमाडौं, २७ माघ । कोभिडको समयमा होटल क्षेत्र नराम्ररी थला प¥यो । कतिपय होटल पुनः सञ्चालनमा आउन नसकी बन्द भए । अवस्था सामान्य बन्दै गएपछि पछिल्लो समय समग्र पर्यटन क्षेत्र चलायमान हुँदै जाँदा यसको प्रमुख पूर्वाधारको रूपमा रहेको होटल क्षेत्रमा निजीक्षेत्रको लगानी निरन्तर बढिरहेको छ । पछिल्ला पाँच वर्षयता होटल क्षेत्रमा लगानी लगातार बढ्दै गएको छ । बैंक तथा वित्तीय क्षेत्रले यस क्षेत्रमा प्रवाह गरेको कर्जाको तथ्यांकले पनि यसको पुष्टि गर्छ । बैंक तथा वित्तीय संस्थाले पछिल्लो पाँच वर्षमै होटलमा ८१ अर्ब ८१ करोडभन्दा बढी कर्जा लगानी गरेका छन् ।

बैंक तथा वित्तीय क्षेत्रबाट होटल क्षेत्रमा जाने कर्जा प्रवाहको वार्षिक औसत वृद्धिदर १४ दशमलव ४९ प्रतिशत छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार आर्थिक वर्ष (आव) २०८०÷८१ मा होटल क्षेत्रमा बैंक तथा वित्तीय संस्थाबाट १ खर्ब ९५ अर्ब ७० करोड रुपैयाँ कर्जा प्रवाह भएको छ, जुन आर्थिक वर्ष २०७६÷७७ को तुलनामा ७१ प्रतिशतले बढी हो । सो वर्षसम्म होटल क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी १ खर्ब १३ अर्ब ७९ करोड रुपैयाँ थियो ।

आव २०७७÷७८ मा होटल क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको कर्जा २७ दशमलव ९६ प्रतिशतले बढेको थियो । सो वर्ष यस्तो कर्जा १ खर्ब ४५ अर्ब ७५ करोड रुपैयाँ पुगेको थियो । यस्तै आव २०७८÷७९ मा यो लगानी बढेर १ खर्ब ६० अर्ब ३१ करोड रुपैयाँ कामय भयो ।

चालू आवको पुससम्ममा होटल क्षेत्रमा लगानी गर्न बैंक तथा वित्तीय संस्थाबाट ५ अर्ब ८६ करोड रुपैयाँ कर्जा गइसकेको छ । तर, यो लगानी विस्तार नयाँ परियोजनामा मात्र भने होइन । कतिपय हाल सञ्चालनमा रहेका होटलले क्षमता विस्तार तथा अन्य कामका लागि कर्जा लिन्छन् भने कतिपय नयाँ परियोजनाकै लागि लिन्छन् ।

पाँच वर्षमा होटल क्षेत्रमा कायम बैंक तथा वित्तको कर्जा (रू. दश लाखमा)

स्रोत :नेपाल राष्ट्र बैंक

यस्तै पछिल्लो समय होटल तथा पर्यटन क्षेत्रमा प्रत्यक्ष विदेशी लगानी (एफडीआई) प्रतिबद्धता समेत बढ्दै गएको छ । उद्योग विभागका सूचना अधिकारी अर्जुन सेन ओलीले कोभिडपछि पर्यटकको सङ्ख्या बढ्दो क्रममा रहेकाले होटल क्षेत्रमा लगानी प्रतिबद्धता बढ्दै गएको बताए । उनले भने, ‘लगानी आउने भनेको नै मुनाफाका लागि हो । नाफा कमाउन यो क्षेत्र धेरै राम्रो छ । यसबाट छिटो नाफा कमाउन सकिने भएकाले यो क्षेत्रमा लगानीकर्ता आकर्षित देखिएका हुन् ।’ पछिल्लो समय नेपाल पर्यटक हबका रुपमा विकसित हुँदै गएकोले होटल क्षेत्रमा भविष्य देखेर लगानी गरेको प्रतिक्रिया विदेशी लगानीकर्ताबाट आउने गरेको ओलीले बताए ।

सूचना अधिकारी ओलीको भनाइमा नेपालका होटल व्यवसायी पनि सहमत छन् । यस क्षेत्रमा राम्रो प्रतिफलको सम्भावना देखेर नै व्यवसायीले लगानी बढाउँदै गएको होटल संघ नेपाल (हान)का महासचिव साजन शाक्यले बताए । होटललगायत पर्यटन पूर्वाधारमा लगानी बढ्दै गए पनि पर्यटकको सङ्ख्या भने सोअनुसार बढ्न नसकेको उनको भनाइ छ ।् ‘होटल क्षेत्रको लगानी भविष्यका लागि राम्रो हो । सोअनुसार पर्यटक पनि बढे मात्र लगानीअनुसारको प्रतिफल पाउन सकिन्छ । ३ करोड जनता भएको हाम्रो देशमा कम्तीमा पनि वार्षिक ३०–४० लाख पर्यटक चाहिन्छ । त्यसपछि मात्र यस क्षेत्रले स समग्र अर्थतन्त्रमा खास ठोस योगदान दिन सक्छ,’ उनले भने ‘तर अहिले नै पनि होटलको क्षमताभन्दा धेरै कम पर्यटक आउँछन् । नेपालमा कोभिडको ६ वर्षपछि पनि पर्यटक आगमन उस्तै छ । यसबीचमा दुई तारे देखि पाँच तारेसम्मका होटल दोब्बरभन्दा धेरैले बढिरहेको छ ।’

पछिल्लो समय वैदेशिक लगानीकर्ताको आकर्षण नेपालको पर्यटन क्षेत्रमा परेको छ । एक वर्ष अवधिमा समग्र पर्यटन क्षेत्रमा विदेशी लगानी प्रतिबद्धता दोब्बरले बढेको छ । उद्योग विभागका अनुसार समग्र पर्यटन क्षेत्रमा गत आर्थिक वर्षमा ३३ अर्ब ६० करोड ९९ लाख रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको छ । सो अवधिमा अटोमेटिक रूटबाट मात्रै पर्यटन क्षेत्रका लागि ४ अर्ब ४२ करोड ३२ लाख रुपैयाँ लगानीको प्रस्ताव आएको छ । अघिल्लो वर्ष पर्यटन क्षेत्रमा १५ अर्ब ७४ करोड रुपैयाँ बराबरको यस्तो प्रतिबद्धता आएको विभागले जनाएको छ ।

तथ्याङ्क कार्यालयका अनुसार देशभरि रहेका डेढ लाख होटलमध्ये १ हजार १ सय २१ होटलमा विदेशी लगानी छ, जसमध्ये १ हजार ७३ होटलमा एकल लगानी र ४८ मा विदेशीको संयुक्त लगानी रहेको छ भने ५९ होटलमा नेपाली र विदेशी लगानीकर्ताको संयुक्त लगानी छ । यस्ता उद्योगमा साढे १० अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी रहेको तथ्यांक कार्यालयले जनाएको छ । नेपालमा लुम्बिनी, पशुपति, मुक्तिनाथ, स्वयम्भु जस्ता धार्मिक स्थल भएकाले यस्ता क्षेत्रमा पर्यटक बढ्ने हुँदा त्यस क्षेत्रमा लगानीकर्ता होटलमा आकर्षित हुँदै गएको विभागका सूचना अधिकारी ओलीले बताए ।

‘लगानी मात्रै नभई दिगोपनमा ध्यान दिनुपर्छ’

मुलुकमा स्थापना भएका होटल, रेस्टुरेन्ट तथा लजले ३५ लाख पर्यटक धान्न सक्ने क्षमता रहेको व्यवसायीले बताउँदै आएका छन् । तर, आहिले वर्षिक ११÷१२ लाखको हाराहारीमा छ । ‘अन्तरराष्ट्रिय उडान गर्ने नेपाली एयरलाइन्स र उडान सेवा पनि कम छ, विदेशी पर्यटक नेपालमा विदेशी जहाजमा आउनुपर्ने अवस्था छ,’ हानका महानिर्देशक शाक्यले भने, ‘विदेशी एयरलाइन्सको हवाई शुल्क उच्च हुने भएकाले पनि अपेक्षित रूपमा पर्यटक आउन सकेका छैनन् ।’

यसैगरी होटल क्षेत्रमा लगानी बढाएर मात्र नभई उक्त लगानी आइसकेपछि यसको दिगोपनका लागि सोच्नुपर्ने शाक्यले बताए । ‘होटल मात्र राम्रो भएर पनि हुँदैन । अन्य पूर्वाधार विकास भए मात्र पर्यटक आगमन सङ्ख्या बढ्ने हो,’ उनले भने ।

देशभर डेढ लाख होटल तथा रेटुरेन्ट सञ्चालनमा

राष्ट्रिय तथ्याङ्क कार्यालयले गत पुसमा सार्वजनिक गरेको ‘राष्ट्रिय होटल तथा रेस्टुरेन्ट सर्वेक्षण २०८०’ का अनुसार नेपालमा १ लाख ४२ हजार २२३ होटल तथा रेस्टुरेन्ट सञ्चालनमा छन् । यसमा ३ लाख ८७ हजार ७७४ जना व्यवसायी तथा साझोदार, परिवारिक सदस्य तथा रोजगार व्यक्ति संलग्न छन् ।

हाल सञ्चालनमा रहेका होटल तथा रेस्टुरेन्ट मध्ये कोसी प्रदेशमा २५ हजार ८ सय ८७, मधेसमा ११ हजार ७ सय ४०, बागमतीमा ५२ हजार १ सय २३, गण्डकी १६ हजार ९ सय ७६, लुम्बिनी २० हजार १ सय ५६, कर्णाली ७ हजार १ सय १० र सुदूरपश्चिम प्रदेशमा ८ हजार २ सय २८ छन् ।

होटल÷रेस्टुरेन्टले एक वर्ष अवधिमा २ खर्ब १६ अर्ब ७३ करोड रुपैयाँ बराबर लगानी गरेको देखिएको कार्यालयले जनाएको छ । त्यसबापत होटल–रेस्टुरेन्टले ३ खर्ब २६ अर्ब १ करोड बराबर सेवा उत्पादन गरेका थिए । एक वर्षमा होटल÷रेस्टुरेन्टले नेपालको अर्थतन्त्रमा १ खर्ब ९ अर्ब २७ करोड रुपैयाँ बराबर मूल्य अभिवृद्धि गर्न सफल भएको देखिएको छ । नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा यस क्षेत्रले १.९६ प्रतिशत योगदान गरेको देखिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस