फागुन ३०, काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी माओवादीले आह्वान गरेको बन्दको प्रभाव काठमाडौं उपत्यकामा आंशिक परेको छ ।
बन्दका कारण बिहानीपख फाट्टफुट्ट मात्र देखिएका सवारी साधन मध्यान्हमा आईपुग्दा बाक्लै संख्यामा देखिएका छन् भने अधिकांश शिक्षण संस्थामा पठनपाठन हुन सकेको छैन । बजार क्षेत्रमा पसल खुल्ला छन् । काठमाडौंबाट बाहिरिने लामो दूरीका सवारी साधन पनि चलेका छैनन् ।
सरकारले उसका गतिविधिमाथि प्रतिवन्ध लगाएका कारण कहीँ पनि बन्दकर्ता सडकमा देखिएका छैनन् । विभिन्न स्थानमा बिहानैदेखि शंकास्पद वस्तु तथा बम भेटिएका कारण सार्वसाधारण भने त्रसित बनेका छन् ।