चाडपर्व सकिएसँगै कामको खोजीमा विदेशिने बढे, मंसिरमा मात्रै पौने १ लाखले छोडे देश

अनलाइनसमय |
१० पुष २०८१
चाडपर्व सकिएसँगै कामको खोजीमा विदेशिने बढे, मंसिरमा मात्रै पौने १ लाखले छोडे देश

काठमाडौं, १०, पुस। नेपालीहरुको महान चाड सकिएसँगै कामका लागि विदेश जानेको सङ्ख्या ह्वात्तै बढेको छ । चालू आर्थिक वर्ष (आव)को सुरुवाती महिनादेखि नै वैदेशिक रोजगारमा जानेको सङ्ख्या घट्दो क्रममा थियो, यसले स्वदेशमै रोजगारीको अवसरहरु बढेको संकेत देखाएको थियो । तर, दशैं, तिहार, छठ जस्ता चाड सकिएसँगै कामको खोजी गर्दै विदेश जाने बढेका हुन् ।

चालू आवको मंसिरमा झण्डै पौने १ लाख रोजगारीका लागि विदेश गएका छन् । वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार मंसिरमा ८४ हजार २ सय २६ जनाले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गएका छन्, जुन साउनको तुलनामा ४१ दशमलव ३७ प्रतिशतले बढी हो । साउनमा रोजगारीका लागि विदेश जान ५९ हजार ५७५ जनाले श्रम स्वीकृति लिएका थिए । मंसिरमा रोजगारीका लागि ५१ हजार ४३० जना पुरुष र ८ हजार १४५ महिलाले श्रम स्वीकृति लिएको विभागले जनाएको छ ।

साउनबाट नेपालीहरुको चाडपर्वको सुरुवात तथा किसानका लागि मानो रोपर मुरी उब्जनी गर्ने समय पनि यही भएकाले कामका लागि विदेश जाने युवाहरुको सङ्ख्या घटेको देखिन्छ । पछिल्लो एक महिना अवधिमा कामका खोजीमा विदेशिने युवाको सङ्ख्या ३ दशमलव ४९ प्रतिशतले घटेको छ । विभागका अनुसार भदौमा ५७ हजार ४९३ जनाले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गएका छन्, जसमध्ये ५० हजार ७७० पुरुष र ६ हजार ७२३ महिला छन् ।

असोज महिनामा नेपालीहरुको ठूलो पर्व दशैं थियो । सो अवधिमा वैदेशिक रोजगारमा जाने नेपालीको सङ्ख्या साउनको तुलनामा १० दशमलव १५ प्रतिशतले घट्यो । असोजमा ४७ हजार ४४३ पुरुष र ६ हजार ८२ महिला गरी ५३ हजार ५२३ जनाले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन् । दशैंपछि भने विदेशिने नेपालीहरु उल्लेख्य बढेका छन् । कात्तिक महिनामा रोजगारीका लागि विदेश जाने युवाको सङ्ख्या असोजको तुलनामा ३२ दशमलव ४६ प्रतिशतले बढ्यो । कार्तिकमा वैदेशिक रोजगारीका लागि ७० हजार ९९९ जनाले श्रम स्वीकृति लिएका थिए, जसमध्ये ६२ हजार ८ सय ९० पुरुष र ८ हजार १०० महिला छन् ।

कुन महिनामा कति नेपाली विदेशिए ?

 

करिब ४३ हजारले लिए नयाँ श्रम स्वीकृति

विभागका अनुसार चालू आवको मंसिरमा नयाँ श्रम स्वीकृति लिएर ४२ हजार ९०६ जना वैदेशिक रोजगारीमा गएका छन्, जसमध्ये पुरुष र महिला क्रमशः ३७ हजार ९९६ र ५ हजार ६१० जना छन् । यस्तै संस्थागततर्फबाट २६ हजार ४९ पुरुष र २ हजार ८१९ जना महिलाले श्रम स्वीकृति लिएका छन् । मंसिरमा व्यक्तिगततर्फबाट १३ हजार ५९ जनाले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गएका छन्, जसमध्ये पुरुष र महिला क्रमशः १० हजार ३४९ र २ हजार ७१० महिला छन् । साथै जी.टु.जीमार्फत ९७९ जनाले वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएका छन् ।

 

नेपालीको आकर्षण युएईमा

वैदेशिक रोजगारीको लागि नेपालीको आकर्षण संयुक्त अरब इमिरेट्स (युएई)मा देखिएको छ । चालू आवको मंसिरमा मात्र यूएईका लागि २४ हजार ७ सय ६९ जनाले नयाँ तथा पुनः श्रम स्वीकृति लिएका छन्, जसमध्ये २१ हजार ८८७ पुरुष र २ हजार ८ सय ८२ महिला छन् ।

दोस्रोमा साउदी अरब जान श्रम स्वीकृति लिने नेपालीको संख्या धरै छ । त्यहाँ १८ हजार ४० पुरुष र ७५ जना महिलाले श्रम स्वीकृति लिएका छन् ।

त्यस्तै कतारका लागि १४ हजार ८ सय ४४, कुवेतका लागि ६ हजार ६ सय ९०, मलेसियाको लागि ४ हजार ४ सय ६९, रोमानियाको लागि २ हजार ३४२, जापानमा २ हजार ३ सय ७१ र कोरियाका लागि १ हजार २ सय २५ जनाले श्रम स्वीकृति लिएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस