काठमाडौं, १० पुस । पछिल्लो तीन वर्षमा चीनबाट हुने वस्तु आयात बढ्न थालेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार कोभिड १९ को समयमा घटेको आयात पछिल्ला वर्षहरूमा बढ्न थालेको हो ।
अघिल्लो आर्थिक वर्ष २०७९/८० को पहिलो पाँच महिनाको तुलनामा गत आव २०८०/८१ को सोही अवधिमा ३२ दशमलव ८१ प्रतिशतले बढेको आयात चालू आवको यसै अवधिमा ४ दशमलव ५८ प्रतिशत बढेको छ ।
तथ्याङ्क अनुसार गत मंसिरसम्ममा रू. एक खर्ब ३१ अर्ब ३७ करोड ७४ लाख बराबरको वस्तु आयात भएको छ । गत आव २०८०/८१ को पहिलो पाँच महिनामा रू. एक खर्ब २५ अर्ब ६२ करोड १२ लाखको वस्तु आयात हुँदा आर्थिक वर्ष २०७९/८० को सोही अवधिमा रू. ९४ अर्ब ५८ करोड ११ लाखको आयात भएको थियो ।
चालू आवको पहिलो पाँच महिनामा चीनबाट धेरै भित्रनेमा स्मार्टफोन रहेको छ । स्मार्टफोन रू. १० अर्ब ३५ करोड ६१ लाखको भित्रिएको छ । सो अवधिमा दोस्रो धेरै आयात हुनेमा विद्युतीय गाडी रहेको । यस्तो गाडी रू. ६ अर्ब बराबरको भित्रिएको छ ।
पाँच महिनामा नेपालबाट रू. एक अर्ब ३ करोड ३४ लाखको वस्तु निर्यात भएको छ । सो अवधिमा चीनबाट विभिन्न ३ हजार ३२२ शीर्षकमा वस्तु आयात हुँदा नेपालबाट १७२ शीर्षकमा निर्यात गरेको छ ।