• ताजा समाचार, विश्व, समाचार

    भारतीय लडाकु पाईलट अभिनन्दनका छोरालाई पाकिस्तानी सैनिकको भावुक पत्र -भने बाबुको हातमा बम होइन फूल

     134 Views
    भारतीय लडाकु पाईलट अभिनन्दनका छोरालाई पाकिस्तानी सैनिकको भावुक पत्र -भने बाबुको हातमा बम होइन फूल

    १७ फागुन, काठमाडाैं । गएको हप्ता पाकिस्तानको कब्जामा रहेका भारतीय वायूसेनाका विङ कमान्डर अभिनन्दन बर्धमान आज रिहा हुँदैछन् । ३४ वर्षीय भारतीय नागरिक अभिनन्दन वर्धमान सन् २००४ मा भारतीय सेनामा भर्ति भएका हुन् । उनका पिता पनि भारतीय वायूसेनामा थिए ।

    पाकिस्तानी प्रधानमन्त्री इमारान खानले उनलाई भारतको जिम्मा लगाउने हिजो घोषणा गरेका थिए ।

    यसै सन्दर्भमा अहिले पाकिस्तानी सैनिकको नाममा सार्वजनिक भएको एउटा खुलापत्र सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । पत्र लेख्ने सैनिकको नाम उल्लेख छैन, तर पाकिस्तानी सेनाको आधिकारिक ट्वीटरमा यसलाई सेयर गरिएको छ । अभिनन्दनका छोरालाई सम्वोधन गरेर लेखिएको पत्र यस्तो छ ः

    प्रिय सानो बाबु

    बधाई छ, तिमी चाँडै आफ्नो बुवालाई अंगाल्न गइरहेका छौ । हामी तिम्रो बुवालाई एउटा उपहारको रुपमा फिर्ता पठाइरहेका छौं । चाहे उनी तिमी जस्ता थुप्रैमाथि बम खसाल्न आएका किन नहुन् । बाबु सुन । मेरो तिमीलाई एउटा अनुरोध छ । जब उनले तिमीलाई हतारिँदै आफ्नो कसिलो अंगालोमा बाँध्छन्, उनलाई बिनम्रताका साथ मेरो तर्फबाट केही प्रश्नहरु सोध्नु । उनलाई सोध्नु, बुवा ! के मजस्ता काश्मिरी बच्चाहरुलाई खुशीसँग उनीहरुको बुवासित बस्ने अधिकार छैन ? उनलाई सोध्नु, यदि उनीहरुले तपाईंलाई अराजक भीडको बीचमै छोडिदिएको भए के हुन्थ्यो ? उनलाई सोध्नु, युद्ध र घृणाको मूल्य के हुन्छ ? उनलाई सोध्नु, के शक्तिशाली छ घृणा कि माया ? उनलाई सोध्नु, जीवन सुन्दर छ वा मृत्यु ? म तिम्रो उत्तरको प्रतिक्षामा हुनेछु । खुशीसाथ रहनु सानो बाबु, एक दिन तिमी आफ्नो बाबुसहित हामीसित भेट्न आउने कामना गर्छु । तर, त्यतिबेला तिम्रो बाबुको हातमा मिसाइल र बम होइन फूल हुनेछ । अन्त्यमा, म तिमीलाई वचन दिन्छु कि कसैले पनि तिम्रो अनुहारको मुस्कान खोस्न सक्ने छैन र हाम्रो विध्वंसका लागि हाम्रो भूमि प्रयोग हुन दिने छैन । आफ्नो बाबुसँग खुशीसाथ रहनु ।

    मानवताको प्रेमी

     

    अभिनन्दनका छोरा १० वर्षका छन् ।

    यसमा तपाइको मत

    Facebook Comment