• ताजा समाचार, देश, प्रदेश, समाचार

    अधिकारीको त्यो अन्तिम भाषण- मुलुकको समृद्धिका लागि थुप्रै कामहरु भएका छन्

     144 Views
    अधिकारीको त्यो अन्तिम भाषण- मुलुकको समृद्धिका लागि थुप्रै कामहरु भएका छन्

    फागुन-१५, काठमाडौं । बुधबार बिहान करिब १० बजेतिर कार्यक्रम स्थल तेह्रथुमको चुहानडाँडा पुगेका पर्यटन मन्त्री रविन्द्र अधिकारीले छोटो मन्तव्य व्यक्त गर्ने क्रममा खराब मौसमका बारेमा पनि चर्चा गरेका थिए । यही भाषण नै उनको जीवनको अन्तिम भाषण बन्न पुग्यो । मन्त्री अधिकारीले अन्तिम सम्वोधन गरेको तेह्रथुमको चुहानडाँडा प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मस्थल पनि हो । करिब १५ मिनेट भाषण गरेका उनले भनेका थिए, ‘पानी परेको छ, मौसम खराब छ । हामी फेरि फर्कनु पर्नेछ ।’

    मन्त्री अधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीको इच्छाबमोजिम आफूहरु निरीक्षणमा आएको सुनाएका थिए । ‘यो ठाउँ हाम्रो मन्त्रिमण्डलको नेतृत्व गरिरहनुभएका सम्माननीय प्रधानमन्त्री केपी ओलीज्यूको जन्मस्थल भएर मात्रै पनि होइन, यो ठाउँ उपयुक्त स्थान भएकाले पनि एयरपोर्ट बनाउने विषयमा छलफल भएको थियो’, उनले भनेका थिए, ‘उहाँले डिटेल अध्ययन गर्नुस् भन्नुभयो । अध्ययन प्रतिवेदनको अध्ययनपछि मलाई आफैं गएर चुहान डाँडा हेरेर आउनुहोस् भन्नुभयो । त्यसपछि स्थलगत अध्ययनमा आएका छौं ।’

    अरु अध्ययनहरुले उपयुक्त देखाइसकेको बताउँदै मन्त्री अधिकारीले अगाडि भनेका थिए, ‘यत्तिकै हेर्दा पनि यो एयरपोर्टका लागि उपयुक्त ठाउँ छ । मैले सबै हिसाबले उपयुक्त छ भन्ने ठानेको छु ।’ उनले चुहानडाँडा एयरपोर्टको नक्सा र इस्टमेट डिजाइन सबै भइसकेको बताउँदै पहिले २९ करोड लाग्ने अनुमान गरिए पनि हाल ८७ करोड खर्च हुने अवस्था आएको जनाएका थिए ।
    मन्त्री अधिकारीले वर्तमान सरकारमा मुलुकको आर्थिक विकास र समृद्धिको यात्रालाई प्रधानमन्त्री ओलीले नेतृत्व गरिरहेको उल्लेख गर्दै ओलीको सन्देश पनि सुनाएका थिए । उनले भनेका थिए, ‘प्रधानमन्त्रीज्यूको सन्देश पनि म भन्न चाहन्छु, सरकार यो ठाउँमा एयरपोर्ट बनाउन प्रतिबद्ध छ । त्यसैले हामी तपाईंहरु बीच आएका छौं ।’

    मन्त्री अधिकारीले अर्को प्रसंगमा सरकारको अस्थिरताबाट फाइदा लिएका र मुलुकमा समृद्धि नदिनेहरु आत्तिएको पनि बताएका थिए । उनले भनेका थिए, ‘केही भएन भनेर कराइ रहेका छन् । तर, यो सरकार बनेपछि मुलुकको समृद्धिका लागि थुप्रै कामहरु भएका छन् ।’ उनले आफूहरु राष्ट्र र जनताको पक्षमा काम गरिरहेको बताउँदै अझै प्रभावकारी ढंगले काम गर्ने पनि प्रतिबद्धता जनाएका थिए । ‘काम भएको छैन भनेर हल्ला गर्नेहरु छन् । तर, यति भन्न चाहन्छु, उनीहरु किन हल्ला गरिरहेका छन् भने सरकारले काम गरिरहेको छ र काम गरेको छैन भनेर अफवाह फैलाउन हल्ला गरिरहेका छन्’, उनले भनेका थिए ।

    पर्यटनमन्त्री अधिकारीले आफूले देशभरको विमानस्थल सुधार गरिरहेको पनि बताएका थिए । उनले भनेका थिए, ‘देशमा ठूल्ठूला पूर्वाधारका निर्माणका काम भइरहेका छन् । अब मुलुकको आर्थिक विकास र समृद्धिलाई कसैले रोक्न सक्दैन, यो सरकारको सन्देश हो । सरकार यसमा प्रतिबद्ध छ ।’मन्त्री अधिकारीले तेह्रथुमको कार्यक्रम सकिएलगत्तै पाथिभरा दर्शन गर्ने इच्छा राखेका थिए । र, त्यसतर्फ टोली लागेको थियो । यद्यपि, पाथिभराबाट फर्किने क्रममा दुर्घटनामा परेर बुधबार दिउँसो मन्त्री अधिकारीसहित ७ जनाको मृत्यु भयो ।

    यसमा तपाइको मत

    Facebook Comment