काठमाडौं, ७ मंसिर । चालू आर्थिक वर्षको चार महिनामा नेपालको वैदेशिक व्यापारमा सामान्य सुधार देखिएको छ । भन्सार विभागले शुक्रबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष (आव) २०८१/८२ को कार्तिकसम्मा ५ खर्ब ६६ अर्ब ५ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ, जुन गत आवको कार्तिकको तुलनामा शून्य दशमलव ५३ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा ५ खर्ब ६३ अर्ब ६ करोड रुपैयाँको वस्तु आयात भएको थियो ।
चालू आवको कार्तिकमा आयात–निर्यात दुवैमा सामान्य सुधार भएको छ । विभागका अनुसार चार महिनामा ५ खर्ब १३ अर्ब ३८ करोड रुपैयाँ बराबर वस्तु आयात भएको छ, जुन गत आवको सोही अवधिको तुलनामा ०.१७ प्रतिशतले बढी हो । गत आवको कार्तिकसम्ममा ५ खर्ब १२ अर्ब ५० करोड रुपैयाँ बराबरको मात्र वस्तु आयात भएको थियो ।
त्यस्तै निर्यातमा समेत सुधार देखिएको छ । गत आवको चार महिनामा ५० अर्ब ५६ करोड रुपैयाँ बरावरको वस्तु निर्यात भएकोमा यस वर्षको कार्तिकसम्ममा ५२ अर्ब ६७ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ, अर्थात् एक वर्ष अवधिमा निर्यात ४.१६ प्रतिशतले बढेको विभागले जनाएको छ ।
चार महिनामा व्यापार घाटा ४ खर्ब ६० अर्ब ७१ करोड रुपैयाँ बराबर छ, जुन गत आवको कार्तिकसम्मको तुलनामा ०.२६ प्रतिशत कम हो । सोही अवधिमा व्यापार घाटा ६ खर्ब ६१ अर्ब ९३ करोड बराबर रहेको थियो ।
विभागका अनुसार कुल वैदेशिक व्यापारमा आयात हिस्सा ९०.७० प्रतिशत र निर्यात हिस्सा ९.३० प्रतिशत छ ।