मुख्यसचिव अर्यालले दिए राजीनामा

अनलाइनसमय |
३ मंसिर २०८१
मुख्यसचिव अर्यालले दिए राजीनामा

काठमाडौं, ३ मंसिर । मुख्यसचिव डा. बैकुण्ठ अर्यालले राजीनामा दिएका छन् । उनले आइतबार राष्ट्रिय योजनामा आयोगमा हाजिर गरे लगत्तै मुख्यसचिव एकनारायण अर्यालको सचिवालयमा राजीनामा बुझाएको उनी निकट स्रोतले जनाएको छ ।

आगामी मन्त्रिपरिषद बैठकले उनको राजीनामाबारे निर्णय गर्नेछ । १४ कात्तिकमा भ्रष्टाचार मुद्दामा सफाइ पाएका अर्यालले आइतबारमात्र रमानापत्र अनुसार राष्ट्रिय योजना आयोगमा विशेष अधिकृतका रुपमा हाजिर भएका थिए । अन्तःशुल्क स्टिकर छपाइमा भएको भ्रष्टाचारमा संलग्न भएको आरोपमा गत ९ असारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा अर्यालले विशेष अदालतबाट सफाइ पाएका थिए ।

भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट सफाइ पाएपछि सरकारी सेवामा पुनः फर्केका अर्याललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गत कात्तिक २० मा योजना आयोगमा रमाना पठाएको थियो ।

डा. अर्यालमाथि अन्तःशुल्क स्टिकर छपाइमा भ्रष्टाचार गरेको आरोपमा गत असार ९ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो ।

अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको भोलिपल्ट १० असारमा मन्त्रिपरिषद बैठकले योजना आयोगमा विशिष्ट श्रेणीको मुख्यसचिव सरहको पद सिर्जना गर्दै उनलाई सरुवा गरेको थियो ।

मुद्दा लागेको भोलिपल्टै अर्याललाई सरुवा गर्ने निर्णयपछि लीलादेवी गड्तौला निमित्त हुँदै ३१ असारमा कायममुकायम मुख्यसचिव नियुक्त भएकी थिइन् । त्यसपछि १० साउनमा मुख्यसचिव नियुक्त भएकी उनले अवकाश पाएपछि १३ भदौमा एकनारायण अर्याल मुख्यसचिव नियुक्त भएका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस