कोप–२९ मा सहभागी भएर स्वदेश फर्किए राष्ट्रपति

अनलाइनसमय |
३० कार्तिक २०८१
कोप–२९ मा सहभागी भएर स्वदेश फर्किए राष्ट्रपति

काठमडौं, ३० कार्तिक । राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको राजधानी बाकुमा आयोजित जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीइ सम्मेलन (कोप–२९) मा सहभागी भएर आज बिहान स्वदेश फर्किएका छन् ।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे लगायतले स्वागत गरेका छन् ।

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९) मा उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति पौडेल यही कात्तिक २५ गते अजरबैजान गएका थिए ।
राष्ट्रपति पौडेलले कोप २९ अन्तर्गत मङ्गलबार उच्चस्तरीय सत्रको ‘विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन’लाई सम्बोधन गरेका थिए । सो अवसरमा उनले हिमालको सुरक्षा भनेकै पृथ्वीको सुरक्षा हो भन्ने कुरा ख्याल गर्न विश्व समुदायलाई आव्हान गरेका थिए ।

सम्मेलनका क्रममा नेपालले आफ्ना एजेन्डामाथि विश्वको ध्यानाकर्षण गराउन बुधबार राष्ट्रपति पौडेलको नेतृत्वमा बेग्लै उच्चस्तरीय सत्र सञ्चालन गरेको थियो । सम्मेलन (कोप–२९) अन्तर्गत नेपालले आयोजना गरेको ‘माउण्टेन इन पेरिल, एडेसिङ लस एण्ड डयामेज इन द हिमालय’ (पर्वतीय क्षेत्रमा जलवायुजन्य हानि तथा नोक्सानीको सम्बोधन) शीर्षकको उच्चस्तरीय राउण्ड टेबल बैठकलाई उनले सम्बोधन गरेका थिए । आफ्नो समबोधनमा उनले पहाडी देशमा परेको जलवायु जोखिमको प्रभाव सामुद्रिक देशमा पर्न सक्ने र सामुद्रिक किनार माथि उठ्न सक्ने भएकोले आउँदा दिनमा पर्वतीय देश र सामुद्रिक देश मिलेर साझा कार्यक्रमका साथ एकीकृत रुपमा काम गर्नुपर्ने बताएका थिए ।

त्यस्तै किर्गिस्तानद्वारा बुधबार नै आयोजित उच्चस्तरीय सत्रलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले जलवायु परिवर्तनका कारण पीडित हुनेहरुलाई न्याय दिने हो भने उनीहरुले भोगेका जलवायु समस्या र गरिबी निवारण कार्यक्रमलाई एकिकृतरुपमा सम्बोधन गर्नुपर्ने बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस