काठमाडौं, २७ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले धर्मको नाममा राजनीति हुन नहुने बताएका छन् ।
प्रधानमन्त्री निवास, बालुवाटारमा मङ्गलबार जैनश्वेताम्बर तेरापेथी सभाका पदाधिकारीसँगको भेटमा प्रधानमन्त्री ओलीले धर्म निरपेक्ष मुलुक नेपालमा राज्यले सबै धर्मलाई सम्मान गर्ने भएकाले यसका नाममा राजनीतिकरण भएमा त्यसले समाजलाई बिथोल्ने बताए ।
‘नेपालमा एकातिर हिन्दू राज्य हुनुपर्छ भनेर अभियान चलाइएको छ । अर्कातिर क्रिश्चियन धर्म विस्तार गर्ने नाममा मानिसको गरिबीको दुरुपयोग गरिएको छ’ प्रधानमन्त्री ओलीले भने, ‘यस्ता कुराहरुलाई हामी क्रमशः नियन्त्रण गर्छौ । हामीले कुनै पनि धर्मका नाममा असहिष्णुता र संकीर्णता राख्न हुँदैन ।
प्रधानमन्त्री ओलीले धर्म व्यक्तिगत रोजाइ र आस्थाको कुरा भएकाले सम्मान गरिने पनि बताए ।
भेटका अवसरमा आचार्य श्री महाश्रमणजीका शिष्य मुनि रमेशकुमारजी र मुनि रत्नकुमारीलगायतले समाजमा नैतिकता, सद्भावना, मानव एकता, नशाबाट मुक्ति र शान्तिका लागि आफूहरूले गर्दै आएका कामबारे अवगत गराएका थिए ।