• ताजा समाचार, शिक्षा तथा संस्कृति, स्वास्थ्य, स्वास्थ्य/जीवनशैली

    शरीरको प्रतिरक्षा प्रणाली बलियो बनाउने ८ खानेकुरा

     101 Views
    शरीरको प्रतिरक्षा प्रणाली बलियो बनाउने ८ खानेकुरा

    अस्मिता सापकोटा
    काठमाडौं, २३ कार्तिक । जाडो महिना शुरू भइसकेको छ । जाडो बढेसँगै धेरै बालबालिकामा रुघाखोकी, फ्लु लगायत अन्य मौसमी रोगको संक्रमण पनि बढ्छ । यसबेला उनीहरूमा रोगको संक्रमण छिट्टै फैलने भएकाले प्रतिरक्षा प्रणाली बलियो बनाउनु आवश्यक हुन्छ । सानै उमेरमा बालबालिकाको प्रतिरक्षा प्रणाली पूर्ण रूपमा विकास भएको हुँदैन । यसले गर्दा उनीहरू रोगजनक जीवाणुहरूप्रति बढी संवेदनशील हुन्छन् । यही कारण उनीहरुमा प्रायः रुघा, खोकी तथा ज्वरोको संक्रमण देखिन्छ ।

    बालबालिकालाई बिरामी हुनबाट जोगाउने मुख्य उपाय उनीहरूको आहारमा प्रतिरक्षा बढाउने खानेकुरा समावेश गर्नु हो । यसको लागि प्रशस्त भिटामिन, प्रोटिन तथा खनिजको मात्रा भएका मौसमी ड्राइ फ्रुट्स, फलफूल तथा तरकारीको सेवनमा ध्यान पुर्‍याउनु पर्छ । साथै भिटामिन सी युक्त खानेकुरा प्रतिरक्षा प्रणाली बलियो बनाउन अत्यावश्यक हुन्छ । यसले सेतो रक्तकोषको उत्पादनमा मद्दत गर्छ, जसले संक्रमणविरुद्ध लड्छ ।

    जाडोमा शरीर न्यानो राख्न र रोगसँग लड्ने क्षमता बढाउन मद्दत गर्ने ८ खानेकुरा :

    ड्राइ फ्रुट्स

    ओखर, बादाम, काजु, अल्मन्ड लगायत ड्राइ फ्रुट्समा प्रोटीन, फ्याट, भिटामिन– इ लगायत तत्व प्रचुर मात्रामा हुन्छ । यसले शरीर न्यानो राख्न र प्रतिरक्षा प्रणाली बलियो बनाउन मद्दत गर्छ । साथै ओखरमा पाइने ओमेगा–थ्री फ्याटी एसिडले शरीरलाई मस्तिष्क तथा मुटुको स्वास्थ्य राम्रो बनाउने, सूजन कम गर्ने, रक्तचाप नियन्त्रण गर्ने, प्रतिरक्षा प्रणाली बलियो बनाउने लगायत कार्यमा सहयोग पुर्‍याउँछ । यसैगरी अल्मन्डमा हुने जिंक शरीरका कोषहरूको पुनर्विकासमा सहयोगी हुन्छ ।

    अदुवा

    अदुवामा एन्टिब्याक्टेरियल र एन्टिइन्फ्लामेटरी गुण हुन्छ । यसले शरीरलाई न्यानो राख्न र रोगसँग लड्न मद्दत पुर्‍याउँछ । अदुवाको चिया जाडो महिनामा निकै लाभदायक हुन्छ ।

    लसुन

    लसुनमा एलिसिन नामक तत्व हुन्छ, जसले संक्रमणसँग लड्न मद्दत गर्छ । नियमित रूपमा लसुन खानाले प्रतिरक्षा प्रणाली बलियो हुनुका साथै शरीर पनि न्यानो रहन्छ ।

    घ्यू र मह

    घ्यूमा हुने चिल्लो पदार्थले शरीर न्यानो बनाउँछ । महमा एन्टिब्याक्टेरियल गुण हुन्छ, जसले शरीरलाई संक्रमणबाट जोगाउँछ । घ्यू र मह मिसाएर खानाले रुघाखोकीको समस्यामा पनि आराम मिल्छ ।

    हरियो सागसब्जी

    पालुंगो, मेथी जस्ता हरिया सागसब्जीमा भिटामिन सी, ए र इ लगायत तत्व पाइन्छ । यसले शरीर न्यानो राख्नुका साथै प्रतिरक्षा प्रणाली बलियो बनाउँछ ।

    सिट्रस फल

    कागती, सुन्तला, भोगटे, निबुवा लगायत सिट्रस फल भिटामिन सीको राम्रो स्रोत हुन् । भिटामिन सीले प्रतिरक्षा प्रणाली बलियो बनाउन र शरीर स्वस्थ राख्न मद्दत पुर्‍याउँछ ।

    गोलभेँडा

    गोलभेँडामा एन्टिअक्सिडेन्ट्स र भिटामिन सी हुन्छ । यसले शरीरलाई न्यानो राख्न र संक्रमणबाट जोगाउन मद्दत गर्छ ।

    दालचिनी

    दालचिनीमा एन्टिअक्सिडेन्ट र एन्टिब्याक्टेरियल गुण हुन्छ । यसले शरीर न्यानो राख्न र प्रतिरक्षा प्रणाली बलियो बनाउन सहयोग गर्छ । यसलाई चिया वा अन्य खानेकुरामा मिसाएर खान सकिन्छ ।

    (एजेन्सीको सहयोगमा)

    यसमा तपाइको मत

    Facebook Comment