काठमाडौं, २८ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले पेरिस पारा ओलम्पिक, २०२४ मा काँस्य पदक विजेता पलेसा गोवर्द्धनसहित प्रशिक्षक र टिम व्यवस्थापकलाई पुरस्कृत गरेका छन् ।
युवा तथा खेलकुद मन्त्रालयले शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा आयोजना गरेको कार्यक्रममा प्रधान्मन्त्री ओलीले पलेशालाई ६५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।
पलेशा नेपाली ओलम्पिक ६ दशक सहभागी इतिहासमा पदक जित्ने पहिलो खेलाडी हुन् । उनले दुई साता अघि के ४४ क्याटेगोरी ५७ केजी मुनी प्रतिस्पर्धामा सर्वियाकी मारिया मिसेभलाई १५–८ ले पराजित गर्दै पदक जितेकी हुन् ।
यस्तै, सो खेलका प्रशिक्षक कविराज नेगी लामालाई पाँच लाख ८५ हजार र टिम व्यवस्थापक रामचन्द्र श्रेष्ठलाई दुई लाख ९२ हजार रुपियाँ पुरस्कारसहित सम्मान गरिएको छ ।
सो अवसरमा प्रधानमन्त्री ओलीले खेलमा विजय हासिल गरेपछि खेल क्षेत्रको उत्साह कायम राख्न छिटो छिटो पुरस्कार दिने र राशीमा कर नकटाउने नीति लिइएको बताए । उनले आगामी विश्वस्तरका खेलमा नेपालले थप सफलता पाउने विश्वास व्यक्त गर्दै पलेसाले हासिल गरेको सफलता नेपालकै अहिलेसम्मको ठुलो पदक भएकाले देशले गौरव गरेको बताए ।
कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, सचिव सुमनराज अर्याल, राष्ट्रिय खेलकुद परिषद्का सदस्य टङ्कलाल घिसिङ, नेपाल तेक्वान्दो सङ्घका पदाधिकारीलगायत सहभागी थिए ।